
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भयो ।
ताप्लेजुङमा पाथीभरा दर्शन गरी फर्किने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाए ।
सरकारले आज राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक बिदा समेत दिएको छ ।
देश नै शोकमग्न बनिरहेका बेला हामीले स्वर्गीय रवीन्द्र अधिकारीको लुकेको एउटा पाटोलाई यहाँहरूसमक्ष पुन: पेश गर्दैछौं ।
धुलिखेलमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा रवीन्द्रसँग भएको अन्तरंग कुराकानीमा आधारित रहेर सुशील पन्तले लेखेको यो फिचर लोकान्तरमा १२ चैत २०७३ मा प्रकाशित भएको थियो ।
चैत १२, २०७३ – पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति रहेको समयमा रवीन्द्र अधिकारी सहितको टोली सांस्कृतिक कार्यक्रमको सिलसिलामा मुस्ताङ पुगेको थियो, २०४७ सालको चैत्रमा ।
पोखराबाट आरएनएसीको ट्वीनअटर विमान चढेर मुस्ताङ गएको टोलीले सांस्कृतिक कार्यक्रमको सिलसिलामा एक हप्ताको समय त्यतै बितायो । पोखरेली सांस्कृतिक टोली एक दिन जोमसोमको होटलमा खाना खान बसेको थियो मध्याह्न १२ बजेको समयमा । त्यही बेला बेजोडले हावा चल्यो ।
सांस्कृतिक कार्यक्रमको सिलसिलामा गएकाले उनीहरू हिँड्दा, डुल्दा जतिबेला पनि गीत गाउँथे । जोमसोममा होटलमा बसिरहेको समयमा बेजोड हावा चल्दा रवीन्द्रले कवितात्मक लयमा केही शब्द उच्चारण गरे । अन्य साथीहरूले केही शब्द थपे र आधा घण्टामा गीत तयार भयो ।
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
ए हजुर, घर हाम्रो पोखरा
केही शब्द तलमाथि गरेर सांगीतिक समूह नेपथ्यले गाएपछि त्यो गीत एकाएक चर्चित भयो । शुरूमा तयार गरिएको गीतमा मायाप्रीतिको भाव समावेश गरिएको थिएन, क्रान्तिकारी भाव थियो ।
‘त्यो डाँडा छेक्यो कुइरोले
आज पानी परेन लै बरी लै
देशै खायो गाउँघरको जालीले
उठौं अब सबै लै बरी लै’
त्यसमा पछि ‘अहिलेसम्म भा’छैन घरबार’ भनेर थपियो ।
यम गुरुङ, रक्षा गुरुङ (संगीत), सीता गुरुङ, वीरेन्द्र केसी लगायत एक दर्जन सदस्यको टोली थियो ।
‘त्यो हाम्रो सामूहिक रचना हो, हामी सबैले श्रेय लिन्छौं, त्यतिबेला बनाइएका सबै गीत सबैको सामूहिक रचना हुन्थ्यो,’ अधिकारी स्मरण गर्छन् ।
त्यसबेलाका साथीहरू अहिले हङकङमा छन् । पछि अमृत गुरुङले गाए । नेपालमा एफएम रेडियोको विकास भइनसकेको बेला २०५० को दशकमा त्यो गीत सर्वाधिक बज्ने गर्दथ्यो र अहिले पनि बजिरहेको छ ।
जिन्दगी सलल बगेको पानी हो । लोक–पप लयको यो गीत युवाहरूको ओठमा झुण्डिएको छ ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि पोखरामा पृथ्वीनारायण (पीएन) कलेजको सांस्कृतिक टोलीको लोकप्रियता कास्की जिल्लामा मात्र नभई आसपासका जिल्लामा समेत फैलिएको थियो । पोखरामा पीएनको भव्य सांस्कृतिक टीम थियो । त्यतिबेला रवीन्द्र अखिलको जिल्ला अध्यक्ष पनि थिए ।
सांस्कृतिक कार्यक्रमको सिलसिलामा हिँड्ने बेला रवीन्द्रले अरू कैयौं गीत लेखेका थिए, तर ती गीत रेकर्ड गरिएका छैनन् । रेकर्ड नगरिएको मात्र होइन, अब त रेकर्डमा पनि छैनन् । सांस्कृतिक अभियानको दौरानमा लेखिएका दर्जनौं गीत र कवितासहितको डायरी हराएपछि रवीन्द्रका जनवादी गीत त्यसै बिलाए ।
‘२०४४ सालतिर मेरा सम्पूर्ण रचना भएको डायरी हरायो । डायरी हराएपछि म पागल जस्तो भएँ । सपना देख्न थालें त्यो डायरीको,’ साहित्य लेखन छाड्नुको कारणबारे रवीन्द्रले भने, ‘यी गीत रेकर्ड नहुनुका पछाडि डायरी हराउनु नै कारण हो । पछि चाहिँ आफूले लेखेका गीत पर्फेक्ट रहेनछन् भन्ने जस्तो पनि भयो ।’ त्यसपछि भने रवीन्द्रको कुनै डायरी हराएनन् ।
कास्कीको शान्ति उदय मावि भरतपोखरीमा कक्षा ८ मा पढ्दादेखि नै रवीन्द्र अखिलको राजनीतिमा लागेका थिए । स्कूल पढ्दादेखि नै उनी सांस्कृतिक कार्यक्रममा भाग लिने गर्दथे । त्यसबेला उनी महिलाको भेषमा नाच्ने गर्दथे ।
पञ्चायती व्यवस्थाविरुद्ध सांस्कृतिक कार्यक्रममार्फत् जनतामा चेतना फैलाउन त्यस समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो ।
पछि क्याम्पस पढ्न थालेपछि रेकर्ड भएका अर्काको गीतलाई आधार बनाएर जनवादी शब्दमा गीत लेख्दथे । आफैं लय खोज्न संगीत भर्न नसकिने भएकाले उनी चलेको गीतमा जनताका क्रान्तिकारी र जनवादी शब्दहरू घुसाएर गीत बनाउँथे ।
सिम्लेमाथि वन
सिमल भुवा झैं उड्छ मेरो मन
ढिँडो खानु गुन्द्रुकको झोलसित
बित्यो जीवन दुखिया चालसित
गरीब खेतैमा,
गरीब खेतैमा, धनी जेटैमा
गरीब भोको पेटैमा
त्यसबेलाको अखिल भूमिगतकालको माओवादी जस्तै क्रान्तिकारी थियो । उनीहरूका गीत वर्गीय विभेदविरुद्ध लक्षित हुन्थे । मालेको प्रभाव बढ्दो थियो, प्रगतिशील प्रभाव परेको थियो ।
सेती बगरमा
गरीब बगरमा
धनी महलमा
यस्तै भावका गीत हुन्थे । संस्कृतिमार्फत जनचेतना जगाउन कास्कीका १५ स्कूलमा सांस्कृतिक कार्यक्रम हुन्थे । विद्यालय जीवनमा पनि रवीन्द्र धेरै स्कूलमा पुगेका हुन्थे ।
आजकलजस्तो घरैपिच्छे विदेश जाने प्रचलन नभएपनि पश्चिम नेपालबाट रोजगारीका लागि भारत जानेको कमी हुँदैनथ्यो । विदेश जाने होइन, स्वदेशमै काम गर भन्दै विदेशमा जागिर खान चाहने लाहुरे दाइलाई रोक्न आग्रह गरिएको गीतमा गाउने र नाच्ने गर्दथे रवीन्द्र ।
परदेश जाने परदेशी दाजु
नराम्रो देखें परदेश जानुमा
२०४६ सालमा प्रजातन्त्र नआउँदै रवीन्द्रहरूले राजतन्त्रविरुद्ध गीत गाएका थिए, ‘राजबन्दी छाडिदे, पञ्चे सरकार, थापा सरकार’ भन्दै ।
२०३७/३८ सालमा, केपी ओलीहरू जेलमा थिए । सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । सूर्यबहादुरविरुद्ध अनेरास्ववियुले गीत बनाएको थियो ।