
काठमाडौं- फिल्म ‘सरौतो’को हाल धमाधम छायाँकन भईरहेको छ ।
हालैमात्र फिल्ममा समावेश एक लोकलयको गीतको छायाँकन ललितपुरको सानेपामा गरिएको छ । सानेपाको इन्टरनेशनल क्लबमा छायाँकन गरिएको ‘चुलो चौका’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर तथा राजनकै शब्द/संगीत रहेको छ । ‘सरौतो’ हरि हुँमागाईको डेब्यू निर्देशन फिल्म हो ।
सबैको सहयोग पाएर काम राम्रो भइरहेको निर्देशक हरि बताउँछन् । उनले टिमवर्कले सोँचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको बताए । छायाँकनरत गीतलाई लिएर निर्माण टिम निकै आशावादी रहेको छ ।
‘गीत जन जिब्रोमा झुण्डिने किसिमको छ’ निर्देशक हरिले भने ‘राम्रो गर्ने कोशिस गरेका छौं ।’ यसै फिल्ममार्फत कोरियोग्राफीमा डेब्यू गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि गीतबाट आशावादी छिन । ‘गीतलाई जसरी तयारी गरेका थियौं । त्यसै अनुरुप छायाँकन भईरहेको छ’ उनले भनिन् –‘कोरियोग्राफीमा पहिलो भएपनि सबैले कोअपरेट गर्नुभएको छ ।’ 
गीतबाट नायिका सुमी पनि निकै आशावादी देखिन्छिन् । फिल्म ‘डायरी’मार्फत डेब्यू गरेका नायक सन्नीले पनि गीतलाई लिएर उत्साहित रहेको बताउँछन् । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् ।
एक्सन र बदलाको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोशिस क्षेत्रीको संगीत रहने गीतमा राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङ्ग र केतन क्षेत्रीको स्वर रहनेछ ।
काठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगठ लगायतका तराईको स्थानमा छायांकन गर्न लाग्नेछ ।