३१ असार २०८३, बुधबार

विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु

फागुन १६, २०७५
विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं – विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

कैलाली, दाङ, झापा, बर्दिया, चितवन, धनकुटा र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना ९ जनाको मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१० स्थित सडकमा ना४ख २६६१ नम्बरको ट्रकले भे२प ४५४२ नम्बरको मोटरसाइकललाई बुधवार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका–४ बस्ने २५ वर्षीय समिर चौधरीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने २१ वर्षीय सुरेश डगौराको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकै घोडाघोडी नगरपालिका–१ पेट्रोलपम्प नजिक म१क ३२८ नम्बरको टिप्परले बिहीवार बिहान सोही नगरपालिका–१ पिपलडाँडा बस्ने जगत बस्नेतको ६ वर्षीय छोरा शुभम् बस्नेतलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि घोडाघोडी अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बाहिरी संग्रामस्थित सडकमा दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु१च ५९१२ नम्बरको जीप सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१९ बाँसगढी बस्ने ३५ वर्षीय लालबहादुर वली र जीपमा सवार छिल्लीकोट बस्ने ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ५ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा ३ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ ।

झापाको शिवसतासी नगरपालिका–११ दुधेस्थित सडकमा बुधबार राति बा५च ९४२९ नम्बरको जीपको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री हाल नाम, थर, वतन नखुलेका पुरुषको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै मृतकको सनाखतको लागि आवश्यक कार्य गरिरहेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–२ ज्योतिपुरस्थित सडकमा बा३५प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही स्थान बस्ने २५ वर्षीय मनोजकुमार थारुको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने २५ वर्षीय राजु थारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको कालिका नगरपालिका–८ स्थित सडकमा ग१ख २६७६ नम्बरको बसले ना५८प ६३८५ नम्बरको मोटरसाइकललाई बिहीवार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार कालिका नगरपालिका–८ बस्ने १४ वर्षीया शिक्षा अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भरतपुर–९ बस्ने ४० वर्षीय चन्द्रबहादुर भट्टको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाको सागुरीगढी गाउँपालिका–६ कातिकेस्थित सडकमा धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ७१६९ नम्बरको बस ब्रेक फेल भई बिहीवार बिहान दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । बसको ढोकाबाट हाम फाल्दा गम्भीर घाइते भएका उनको धरानको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको सबैला नगरपालिका–१३ रघुनाथपुरस्थित सडकमा ना७प ९३०० नम्बरको मोटरसाइकल बुधवार साँझ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका–४ बस्ने १९ वर्षीय सलिम राईनलाई उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्