१३ असार २०८३, शनिबार

अधिकारीको निधनले युवा विद्यार्थी आन्दोलनमा अपूरणीय क्षति

फागुन १६, २०७५
अधिकारीको निधनले युवा विद्यार्थी आन्दोलनमा अपूरणीय क्षति

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा सङ्गठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनले नेपाली युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति भएको जनाएका छन् । 

वाइसिएल नेपाल र युवा सङ्घ नेपालले आज संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाली युवाको आशा र भरोसाका केन्द्रका रुपमा परिचित युवा नेता अधिकारीको निधनले युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा दुःखद् घडीमा नेकपाका नेता अधिकारीसहित सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदनमा प्रकट गरेको छ । 

यस्तै नेपाल इञ्जिनीयर्स एशोसिएसनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्य र महासचिव छविराज पोख्रेलले आज एक विज्ञप्तिमार्फत पटकपटकको हवाई दुर्घटनाले नेपालको आन्तरिक हवाई यातायातको सुरक्षामा पुनःप्रश्न चिह्न खडा भएको भन्दै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिन सरोकारवाला निकायले विशेष ध्यान दिन आवश्यक रहेको जनाएको छ । 

यस्तै जनसांस्कृतिक महासङ्घ नेपालले पनि नेता अधिकारीसहितको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सम्पूर्ण कलाकर्मी मर्माहित भएको जनाएको छ । नेपाली जनताले ठूलो आशा र भरोसामा राखेका व्यक्तित्वको निधनले देशवासी नै दुःखित भएको महासङ्घको भनाइ छ । 

यस्तै विद्यार्थी सङ्गठनका ३१ जना पूर्वअध्यक्ष एवं नेताले पनि आजै एक शोक वक्तव्य प्रकाशित गरी विकासप्रेमी जनप्रतिनिधि र भरोसायोग्य युवा नेता गुमाउनुपरेकामा श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवार आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

पूर्वविद्यार्थी नेता विश्वकान्त मैनाली, योगेश भट्टराई, कृष्णध्वज खड्का, खिमलाल भट्टराई, जीवन गौतम, रुपनारायण श्रेष्ठ, देवेन्द्र पराजुली, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, लेखनाथ न्यौपाने, किशोरसिंह राठौर, रामकुमारी झाँक्री, लेखनाथ न्यौपानेलगायत ३१ जनाले सीमासुरक्षा अभियान, ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुट’लगायतका महत्वपूर्ण आन्दोलनका अभियन्ताको निधनले आफूहरुलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्