काठमाडौं– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातै जनाको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शवको पोस्टमार्टम सकिएको अस्पतालले जनाएको छ । हेलिकप्टर दुर्घटनामा परेका मध्ये दुईजनाको शव मात्र चिन्न सकिने आवस्थामा भेटिएको थियो ।
मन्त्री अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको शव पहिचान भएको थियो । अन्यको डाटाको आधारमा पहिचान गरिएको हो । शव जलेका र क्षतविक्षत भएका कारण पोस्टमार्टममा ढिलाई भएको हो । शव परिवारलाई दिने तयारी भएको छ । अहिले अस्पतालमा आफन्तहरुको भिड लागेको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।