०५ असार २०८३, शुक्रबार

ओसामा बिन लादेनका छोराको सूचना दिनेलाई १२ करोड रुपैयाँको पुरस्कार अमेरिकाले दिने

फागुन १७, २०७५
ओसामा बिन लादेनका छोराको सूचना दिनेलाई १२ करोड रुपैयाँको पुरस्कार अमेरिकाले दिने

काठमाडौं — अमेरिकाले आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख डलर (१२ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । 

अमेरिकाको गृह मन्त्रालयले हमजा अलकायदाका प्रमुख नेताका रूपमा उदाएको बतायो । 

हालैका वर्षमा हमजाले अनेकौं भिडियो सार्वजनिक गरेर उनको पितालाई मार्ने अमेरिका र उसका पश्चिमी सहयोगीसँग बदला लिनका लागि समर्थकहरूलाई एकताबद्ध हुन भनेका छन् । 

अमेरिकाको विशेष सैन्य बल सीलले सन् २०११ मा पाकिस्तानको एबोटाबादमा ओसामालाई मारेको थियो । 

हमजाको उमेर ३० वर्ष भएको बताइएको छ । अमेरिकाले उनलाई यसअघि नै वैश्विक आतंकवादी घोषणा गरिसकेको छ । 

हमजाले मोहम्मद अताकी छोरीसँग विवाह गरेका छन् । मोहम्मद अताले सन् २००१ मा अमेरिकामा भएको आक्रमणमा चार व्यापारिक विमानमध्ये एक विमान अपहरण गरेका थिए र न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेको थियो । 

एबोटाबादमा ओसामा बिन लादेनको घरमा भेटिएका चिट्ठीमा हमजालाई भविष्यका लागि तयार पारिएको थाहा भयो । हमजालाई ओसामाको सबभन्दा प्रिय छोरा मानिन्छ र उनले नै पिताको स्थान लिने बताइन्छ । 

अमेरिकाको गृह मन्त्रालयमा कार्यरत कूटनीतिक सुरक्षाका असिस्टेन्ट सेक्रेटरी माइकल इभेनअफले भने, ‘उनी अफगानिस्तान र पाकिस्तानको सीमामा हुन सक्छन । तर उनी दक्षिण केन्द्रीय एसियामा पनि हुन सक्छन् ।’

हमजाले इरानमा आफ्नी आमासँग अनेकौं वर्ष बिताएको मानिन्छ । त्यहीँ नै उनको बिहे पनि भएको हो । 

उनी पाकिस्तान, अफगानिस्तान वा सिरियामा हुन सक्ने रिपोर्ट पनि छन् ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्