२४ जेठ २०८३, आइतबार

गण्डकी मेडिकल कलेजका दुई कर्मचारी पक्राउ

फागुन २३, २०७५
गण्डकी मेडिकल कलेजका दुई कर्मचारी पक्राउ

पोखरा - सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट लिएको आरोपमा गण्डकी मेडिकल कलेजका दुई कर्मचारी पक्राउ परेका छन् ।

कलेजमा अध्यायनरत विद्यार्थीसँग बढी रकम लिएको आरोपमा कलेजका पूर्व प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका हुन् । बुधवार बेलुका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए । एसपी रानाका अनुसार विद्यार्थीसँग विभिन्न समयमा ५३ करोडभन्दा बढी लिएको आरोपमा पक्राउ गरिएको हो ।

ठगीका अन्य ८ जना आरोपीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएपछि अधिकांशको मोवाईल स्विच अफ छ । सम्पर्कविहिन भएकोले पक्राउ गर्न समस्या भैरहेको प्रहरीले जनाएको छ ।

हालसम्म कलेजले विभिन्न शीर्षकमा विद्यार्थीबाट ५३ करोड रुपैयाँ ठगी गरेको विद्यार्थीले आरोप लगाउदै आएका छन् ।

गत माघ १७ गतेदेखि आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि सरकारले तोकेको शुल्क विपरीत मनपरी रुपमा कलेज प्रशासनले विद्यार्थीबाट रकम असुलेको भन्दै १० जना विरुद्ध मंगलबार सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी कार्यालयमा छुट्टाछुट्टै ठगी मुद्धामा उजुरी दिएका थिए ।

कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको दावी गर्दै बिद्यार्थीले उजुरी दिएका हुन् ।

सरकारले उपत्यका बाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क निर्धारण गरेको छ । तर, गण्डकी मेडिकल कलेजले भने विद्यार्थीबाट तोकिएको भन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ ।

उजुरी दिएका विद्यार्थीहरूले परीक्षासमेत बहिष्कार गरेका थिए । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए । सन् २०१५ देखि यताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीले आन्दोलन गरेका हुन् । करिब ४० दिनदेखिको विद्यार्थीको रिले अनसन अझै जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्