
काठमाडौं – थाइल्यान्डका समृद्ध व्यापारी अनोन्त रोथाङलाई आजकल एकदमै कम निद्रा लाग्छ । उनले आफ्नी छोरीको विवाहका लागि अन्लाइन विज्ञापन दिएपछि दिनभरि हजारौं कल आइरहेका हुन्छन् ।
रोथाङको ज्वाईं बन्नका लागि युवकहरूले हत्ते गर्नुको पनि राम्रो कारण छ । हुनेवाला ज्वाईंले लगभग ४ करोड रुपैयाँ बराबरको सम्पत्ति पाउनेछ र उनले चलाएको व्यापारको मालिक पनि बन्न पाउनेछ ।
तर रोथाङले आदर्श ज्वाईंका लागि कडा शर्त तेर्स्याएका छन् । जस्तै, केटो मेहनती हुनुपर्छ, धूम्रपान नगर्ने, जुवा नखेल्ने, उमेर २६ देखि ४० वर्षको बीचमा भएको र ड्युरियन फलहरूको व्यापारका विषयमा जान्नका लागि उत्सुक हुनुपर्छ ।
रोथाङ चीनका युवकहरूलाई प्राथमिकता दिइरहेका छन् किनकि उनको नजर चिनियाँ बजारमा पनि छ । विगत केही वर्षयता चीन थाइल्यान्डको निर्यात बजार बनेको छ ।
रोथाङले हुनेवाला ज्वाईंको शैक्षिक योग्यताका विषयमा कुनै शर्त नराखेको बताए । विश्वविद्यालयको डिग्री आफूलाई देखाउन आवश्यक नरहेको उनको भनाइ छ ।
रोथाङकी छोरी कनिस्ता बैंकको एजम्पसन विश्वविद्यालयको अनर्स ग्राजुएट हुन् । उनले सन यात सेन विश्वविद्यालयबाट चिनियाँ भाषामा डिप्लोमा पनि गरेकी छन् ।
रोथाङले छोरीका लागि युवक खोज्न गरेको प्रयासलाई सामाजिक सञ्जालमा खुबै आलोचना भइरहेको छ । तैपनि रोथाङ दृढ प्रतिज्ञ छन् ।
कनिस्ता पनि आफ्नो दुलाहा आफैं छान्न तयार रहेको बताउँछिन् । थाइहरू भन्दा चिनियाँ पुरुष बढी मेहनती हुने जस्तो आफूलाई लागेको कनिस्ता बताउँछिन् ।
एजेन्सी