०१ साउन २०८३, शुक्रबार

विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्छ : सतपालजी महाराज

फागुन २३, २०७५
विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्छ : सतपालजी महाराज

झापा - नेपाल मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्ने बताउनुभएको छ ।

झापाको धुलाबारीस्थित नन्दागंगा नदी तटमा बिहीबारदेखि शुरू भएको विराट सत्संग समारोह–२०७५ लाई सम्बोधन गर्दै महाराजले नेपाल–भारत धार्मिक रुपमा पनि सम्बन्धित रहेको बताउनुभयो । ‘बुद्ध जन्मिएको देश, जानकी माता जन्मिएको देश नेपाललाई प्रणाम छ,’ उहाँले भन्नुभयो, ‘नेपाल धार्मिक ज्ञानको खानी पनि हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको सन्दर्भमा भन्ने गरेको अभिव्यक्ति सम्झँदै महाराजले भन्नुभयो, ‘प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू भन्नुहुन्छ कि जो मृत्युबाट डराउँदैन भन्छ, कि उ झूट बोल्दैछ, कि उ गोर्खाली हो ।’ गोर्खाली नेपालीले मृत्युबाट नडराएर विभिन्न युद्धमा निडर भएर सहभागिता जनाएको बताउनुभयो ।

बिहीबारदेखि शुरू भएर शुक्रबारसम्म चल्ने समारोहको सतपालजी महाराज र १ नम्बर प्रदेशका मुख्यमन्त्री तथा प्रमुख अतिथि शेरधन राईले पानसमा दिप प्रज्वलन गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री राईसहित प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोर्तेल, मेची नगरपालिका प्रमुख विनोद आचार्य, दमक नगरपालिका प्रमुख रोम ओली, गौरदह नगरपालिकाका प्रमुख रोहितकुमार शाह, मेची नगरपालिकाका उपप्रमुख मिना उप्रेति, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेल लगायत विशिष्ट अतिथि रहनुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै सद्गुरूदेव महाराजले नेपाल देश धर्म र ज्ञानको देश भएको बताउनुभयो । ‘हामीले बाह्य ज्ञान धेरै लिइरहेका छौं । तर आफूलाई जान्ने कुरा सत्संगमा सुन्न पाइन्छ । हामी ग्रहहरू र ब्रह्माण्डको बारेमा पनि जानिरहेका छौं । तर सबै कुरा जान्छौं भनेर भन्न सकिँदैन,’ उहाँले भन्नुभयो । आफूलाई जान्ने ज्ञान क्षणभरमै जान्न सकिने र त्यसका लागि सद्गुरू चाहिने उहाँले बताउनुभयो ।

सन्तहरू भेला भएको ठाउँ तीर्थराज हुने बताउँदै महाराजले भन्नुभयो, ‘आज झापाको नन्दा नदी पनि तीर्थ बनेको छ । यहाँ भगवत् चर्चा भइरहेको छ, विश्व कल्याणको कुरा भइरहेको छ ।’ भगवान् हरीको चर्चा हुने ठाउँमा जातपातको कुरा नहुने र सबैमा हरीको बास हुने उहाँले बताउनुभयो ।

विज्ञानले भन्ने गरेको शक्ति र अध्यात्मले भन्ने गरेको आत्माको प्रसंग जोड्ने महाराजले भन्नुभयो, ‘विज्ञानले भन्छ – शक्तिको जन्म हुँदैन, शक्तिको नाश हुँदैन । भगवान श्रीकृष्णले गीतामा भनेका छन् – आत्मालाई शस्त्रअस्त्रले नास गर्न सक्दैन, यो अविनाशी छ । त्यो आत्मलाई कसरी जान्न सकिन्छ भनेर खोज्नुपर्छ ।’

इन्टरनेटको युगमा सबैतिर वाइफाई फैलिएझै सबैतिर भगवान् फैलिएको बताउँदै सद्गुरूदेव महाराजले वाइफाईझै भगवानसँग ‘कनेक्ट’ हुन पासबर्ड चाहिने  बताउनुभयो । ‘भगवान् जान्ने पासबर्ड सद्गुरूको शरणमा गएपछि पाइन्छ,’ उहाँले भन्नुभयो ।

भारत र नेपालले मिलेर गरीबी र अशिक्षालाई अन्त्य गर्न सकिने बताउँदै उहाँले पञ्चेश्वरमा जलविद्युत् परियोजना, जनकपुरमा रेल लगायतका क्षेत्रमा दुवै देशबीच सहकार्य भइरहेको उहाँले स्मरण गराउनुभयो । सम्बोधनकै क्रममा महाराजले समारोहका अतिथिलाई उत्तराखण्ड भ्रमणका लागि निम्तो दिनुभयो ।

नगरपालिकाबाट नागरिक अभिनन्दन

समारोहमा मेची नगरपालिकाले सद्गुरूदेव सतपालजी महाराजलाई नागरिक अभिनन्दन गरेको छ । नगर उपप्रमुख मिना पोखरेलले वाचन गर्नुभएको अभिनन्दनपत्र प्रमुख विमल आचार्यले हस्तान्तरण गर्नुभयो । नेपाल मानव धर्म सेवा समितिको माध्यमबाट समुन्नत समाज निर्माणमा योगदान गर्नुभएको र सत्संग समारोहले पर्यटन प्रवद्र्धनमा दरिलो टेवा पुगेको भन्दै अभिनन्दन गरिएको जनाइएको छ ।

महाराजका कार्यक्रमले धार्मिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै नगरपालिकाले अभिनन्दन गरेको छ ।

नेपाली शान्ति र एकताको पक्षमा ः मुख्यमन्त्री राई

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेरधन राईले नेपाली शान्ति र एकताको पक्षमा रहेको बताउनुभयो । ‘नेपाल तीब्र गतिमा बदलिरहेको छ । विश्व जनमत शान्ति र मानव एकताको पक्षमा उर्लिराखेको छ,’ उहाँले भन्नुभयो, ‘दुनियाँ समयको गतिसँगै युगको परिवर्तनसँगै सबै प्रकारका हिंसा, अशान्ति, द्वन्द्वहरूको विपक्षमा उभिएको छ ।’

‘हामी नेपाली जहिल्यै शान्ति र मानव एकताको पक्षमा छौं । सिंगो नेपाल जनमत शान्ति र मानव एकताको पक्षमा एकढिक्का उभिएको छ । त्यसैले नेपाल छुट्टै अस्तित्व, पहिचान, स्वाभिमानका साथ शिर ठाडो पारेर उत्रिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले संसारको ध्यान नेपालमा छ, नेपाललाई अनुसन्धान केन्द्रको रुपमा लिन खोजेको छ । १ सय २५ जातजाति कसरी मिलेर बसेका छन् ? विभिन्न संस्कार र संस्कृति मान्ने नेपाली कसरी मिलेर बसेका छन् ? नेपालीबीचको सद्भाव, विश्वास र सम्मान केमा अडेको छ, केमा टिकेको छ ? लगायतका प्रश्न विश्वभर चासोको विषय बनेका छन् ।’

सद्गुरूदेव महाराजको प्रवचनबाट सत्कर्म, सद्विचारको खाँचो रहेको तथा माया र प्रेमको खाँचो रहेको भन्ने मार्गदर्शन भएको उहाँले बताउनुभयो । समारोहमा बोल्दै आयोजक समितिका वरिष्ठ सल्लाहकार डा. जेपी अग्रवालले मानव धर्मले युवालाई धर्मको गुदी बताउने भएका कारण संस्थामा धेरै युवा आवद्ध रहेको बताउनुभयो ।

समारोहमा नेपाल, भारत र भुटानका गरी करीब १ लाख ५० हजार भक्तजनको सहभागिता रहेको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले बताउनुभयो ।

‘सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि मानव धर्म सेवा समितिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम गर्ने गरेको छ,’ आयोजक समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले भने, ‘धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने बाटो समेत बताउने गरेको छ ।’ यसअघि काठमाडौं, चितवन, हेटौडा, नेपालगञ्ज, महेन्द्रनगर लगायत क्षेत्रमा धार्मिक कार्यक्रम सम्पन्न भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्