
काठमाडौं– सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्नो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निजबाट अपराधसँग सम्बन्धित दोषी प्रमाण केही फेला परेको देखिँदैन, पुर्पक्षका लागि थुनामा राख्नु परेन, तारेखका राखी मुद्दामा पुर्पक्ष गर्न दिनु ।”
देशलाई टुक्र्याउनेलगायत राज्य विरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले गत मङ्सिर २० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जले माघ ३ गते जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।
कालोसूचीका ठेकेदार
सरकारले सम्झौता अनुसार काम नगर्ने एक दर्जनभन्दा बढी ठेकेदारलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जनवरी यता मात्रै १३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सम्झौता अनुसार काम नगर्ने र पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न नगर्ने १३ वटा कम्पनीलाई निश्चित सयमसम्म सार्वजनिक कार्यमा सहभागी हुन नपाउने गरी कालोसूची राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार कालोसूचीमा पर्नेहरूमा गोगंबुको जीएम कन्स्ट्रक्सन, गोरखाको मनकामना सप्लायर्स समेत रहेका छन् ।
यस्तै दी आनन्द प्रालि, टाटागाउँ प्रालि, एसबीए प्रगति जेभी, एसबीए, प्रगति, शुभ नवारंग कन्स्ट्रक्सन, नेपाल प्रगति, महालक्ष्मी इन्जिनीयरिङ वर्कशप प्रालि, कैलाश निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, सपना एण्ड सरोज कन्स्ट्रक्सन सप्लायर्स र कोस्टल पप्पु जेभी कालोसूचीमा परेका छन् ।
हेलिकप्टरको सिट घटाउने निर्णय
काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ।
पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै नियामक निकाय क्यानले हेलिकप्टरको एउटा सिट हटाउने निर्णय गरेको हो ।
यो निर्णय सेवाप्रदायक कम्पनीहरुकै सहमतिको आधारमा गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए ।
क्यानका अनुसार आजदेखि प्रत्येक हेलिकप्टरबाट एउटा सिट हटाइने छ । हाल ६ सिट क्षमता भएका हेलिकप्टरले पाइलट नजिकै हुने सिटमा समेत यात्रु राख्दै आएका थिए । अब सो सिट काटिने बताइएको छ ।
९ दिनअघि ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो । उक्त उडानमामा सात जना यात्रु बोकिएको भन्दै आलोचना समेत भएको थियो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानून मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य छन् ।
विशिष्ठ व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
फागुन २१ गते मङ्गलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ । विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ ।
मलेठ घटनाको प्रतिवेदन गलत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुक ढिला सुस्तीका कारण अगाडी बढ्न नसकेको बताएका छन् ।
राजपा र फोरमद्वारा संयुक्त रुपमा सप्तरीको राजविराज नगरपालिका–९ मलेठ घटनामा ज्यान गुमाएका पाँच जना शहीदको दोस्रो पुण्य तिथिको अवसरमा बिहीबार आयोजना गरिएको श्रद्घाञ्जलिसभालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिएपछि आफू कमजोर हुने डरले प्रदेश सरकारलाई पूरा अधिकार नदिएको आरोप लगाए ।
उनले सरकारी स्तरबाट गठित आयोगको टोली र राष्ट्रिय मानव अधिकारको टोलीले मलेठ घटनाको भ्रामक र झूठो प्रतिवेदन तयार पारेको जिकिर गरे ।
सिएमसीसँगको ठेक्का सम्झौता रद्द
तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ ।
कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो ।
अधिकारीद्वयको योगदानको स्मरण
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् ।
नेकपाद्वारा बिहीबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पु¥याउनुभएको योगदान स्मरण गरे ।
दुवै अध्यक्षद्वयले सभामा भरतमोहन, रवीन्द्रजस्ता कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले दिवङ्गत भएकाहरुको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गरिने र दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्का अध्यक्ष दाहालले पार्टी यतिबेला शोकमा डुबेकाले शोकलाई शक्ति र ऊर्जामा बदली उनीहरुको सपनालाई साकार पार्नुपर्ने बताए ।
सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक
मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा प्रचलनमा ल्याइएको छ ।
सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको नम्बर उल्लेख गरिएको छ । हाललाई एक हजारप्रति प्रकाशन गरिएको नक्सा नयाँ प्रदेशको नामकरण हुने बित्तिकै पुनः छापिने छ ।
दुई किलो सुनसहित दुई जना पक्राउ
कैलालीको चिसापानीमा गए राति प्रहरीले दुई किलो ३०० ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ ।
चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र केसीले पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा१९च ७४१३ नंको जीप बुधबार राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी दिए ।
जीप चालक कैलालीका रमेश सैँजु र जीपमा सवार सिखा चौधरीलाई नियन्त्रणमा लिइएको छ । चालक सैँजुलाई प्रमाण देखाउन आग्रह गरिएकामा सबै बिल रसिद देखाउन नसकेपछि उक्त सामग्री बरामद गरिएको केसीले बताए ।
काङ्ग्रेस बैठक चैत ४ गते
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।
प्रहरीको गोलीबाट चन्दका कार्यकर्ता घाइते
प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।
बुधबार बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।
रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम बनाउने सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।