
जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतबीच काठमाडौंमा सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । शुक्रवार नै काठमाडौंमा एक कार्यक्रम आयोजन गरेर सहमतिपत्रमा हस्ताक्षर हुने विषयलाई मधेशमा अस्वाभाविक रूपमा लिइएको छ ।
'अति नै कट्टरपन्थी छवी बनाएका राउतले यसरी ‘यू टर्न’ गर्लान् भन्ने कुरा त परिकल्पना समेत गर्न सकिन्नँ,' एक जना समर्थकले भने, 'यो त हुनै सक्दैन ।' धनुषाका अर्का समर्थकले भने, ‘होइन होला, मिडियामा झुटा समाचार आएको होला ।’ त्यस्तै अर्का समर्थकको पनि उत्तर र दक्षिण ध्रुवबीचको मिलन हुनै नसक्ने प्रतिक्रिया दिए । उनले उत्तर र दक्षिण ध्रुव एकसाथ मिल्न नसक्ने प्रतिक्रिया दिए ।
’यदि स्वराजको मुद्दा परित्यागनै गर्नु थियो भने यत्रो समयदेखि मान्छेहरू उनी पछाडि किन लागे भन्ने प्रश्नका कारण स्वराजीहरूले पनि डा. राउतलाई सहजै स्वीकार गर्न सक्दैनन्,’ अर्का समर्थकले भने, ‘त्यसो भए राउतलाई अब मधेशमा स्वराजीले नै छोड्ने छैनन् ।’
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत भनिने चन्द्रकान्त राउत र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुन गइरहेको संयुक्त सम्बोधनमा सहभागी हुन उनका समर्थकहरू काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएका राउतलाई स्वागत गर्नका लागि केही अगुवा समर्थक तथा कार्यकर्ताहरू मधेशका विभिन्न जिल्लाबाट काठमाडौं पुगेका छन् । धनुषाका कार्यकर्ता मनोज मरबैता पनि अहिले काठमाडौंमैं छन् । उनले भने, ‘हो, डा. राउत र प्रधानमन्त्री ओलीबीच अहिले काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन हुने कार्यक्रम रहेको छ ।’ त्यसैमा सहभागी हुन पुगेका उनले भने, ‘अहिले जसरी मिडियामा डा.राउतले स्वतन्त्र मधेशको एजेण्डा परित्याग गर्ने भनेर समाचार आइरहेको छ, त्यस्तो कुरा भने छैन ।’
केही जिल्लाबाट समर्थकहरू आएका छन् तर मुख्यत: काठमाडौंमैं रहेका समर्थकहरू अहिले उक्त कार्यक्रममा सहभागी हुनका लागि कार्यक्रमस्थल पुगिरहेको मण्डलले बताए । राउतले स्वतन्त्र मधेशको एजेण्डालाई यथावत नै राखेका छन्, रणनीतिक रूपमा कार्यक्रममा केही परिवर्तन भने ल्याइएको उनले बताए ।
त्यसैगरी महोत्तरीको स्वतन्त्र गठबन्धनका कार्यकर्ता वीरेन्द्र मण्डल पनि त्यही कार्यक्रममा सहभागी हुन् काठमाडौं पुगेका छन् । उनले पनि उक्त कार्यक्रम हुन लागेको कुराको पुष्टि गरेका छन् । ‘तर स्वराजको मुद्दा कुनै हालतमा डा. साहेबले छोड्नु हुन्न,’ मण्डलले भने, ‘हामीले उक्त मुद्दा छोड्नै सक्दैनौं ।’
राउतका स्वकीय सचिव एसएन मण्डलले पनि उक्त कार्यक्रमबारे पुष्टि गर्दै भने, ‘प्रधानमन्त्री ओली र डा.राउतबीच केही बुँदामा सहमति हुन सक्छ । तर हामी मूल मुद्दालाई छोड्दैनौं ।’
राउतका अगुवा नेताले पनि सामाजिक सञ्जालमा त्यसको पुष्टि गरेका छन् । एक जना अगुवाले फेसबुकमा लेखेका छन्,‘हामीले केही राजनीतिक बदलाव गरेका छौं, सामाजिक सञ्जालमा वादविवाद नगरौं ।’ यदि केही प्रश्न छ भने संगठनका मान्छेसँग सम्पर्क गर्नुस् ।'
सामाजिक सञ्जालमा प्रयोगकर्ताले सीके राउतको राजनीतिक 'यू टर्न'लाई स्वागत गरेका छन् ।