
काठमाडौं– सरकारसँगको सहमतिपछि सीके राउतले जेल महाविद्यालय रहेको बताएका छन् ।
सरकार र स्वतन्त्र मधेश आन्दोलनका नाममा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएको सीके राउतबीच ११ बुँदे सहमति भएपछि सोही समारोहमा बोल्दै राउतले जेलबाट आफूले ठूलो पाठ सिकेको र जेल महाविद्यालय रहेको बताएका हुन् ।
स्वतन्त्रताको महत्व जेलबाट मात्रै बुझिने भन्दै आफ्नो पछिल्लो ५ पाँच महिनाको जेल बसाई उपलब्धिमूलक रहेको राउतले बताए । त्यसका लागि आफ्नो नियतिलाई समेत उनले धन्यवाद दिए ।
‘एक दिन भएपनि जेलले स्वतन्त्रता महसूस गराउँछ । यो ५ जेल बसाई निकै उपलब्धिमूलक रह्यो,’ उनले भने, ‘त्यसले स्वतन्त्रताको बारेमा ठूलो पाठ सिकायो । त्यसका लागि म नियतिलाई पनि धन्यवाद दिन चाहन्छु ।'
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि जेलका कुरा गर्न सूर्यलाई दियो देखाए जस्तै हुने टिप्पणीसमेत गरे । ‘हुन त हाम्रा प्रधानमन्त्री ज्यू १४ वर्ष जेल बसेर आइसक्नुभएको छ,’ उनले भने, ‘उहाँलाई मैले जेलका कुरा सुनाउन सूर्यलाई दियो देखाउनु जस्तै हो ।’