
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार राजधानीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्छ भनिन् ।
राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर, हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भनिन्, 'महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।'
कानूनले अन्त्य गरिसकेको छाउपडी ,बोक्सी, बालविवाह, बहुविवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औंल्याइन् । राष्ट्रपति भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी बढाउन सरकारसित आग्रहसमेत गरिन् । उनले भनिन्, 'महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०/५० प्रतिशत सहभागिता आवश्यक छ ।'
उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको बताइन् ।