काठमाडौं– स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले प्रधानमन्त्रीकै अगाडि जनमतसंग्रहको सम्प्रभुतालाई राज्यले स्वीकार गरेको बताएका छन् । अहिले जनमतसंग्रहको विषयले एकाएक तरंग ल्याइदिएको छ । उनको अभिव्यक्तिको प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खण्डन नगरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ–
सिकेको भनाई यस्तो थियो –
हामी बुद्धका सन्तान हौँ । अहिंसा हाम्रो रगरगमा बसेको छ । हामीलाई राज्यले स्वीकार गरेको छ । जनअभिमतसहित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्यालाई निवारण गर्ने हाम्रै माग हो । हाम्रो नारा नै थियो– ‘अबकि बार एक हि माग जनमत संग्रह का ऐलान’ (अबको एउटै माग जनमत संग्रह हो)। राज्यपक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै सहमतिको दुई नम्बर बुँदामा हामीलाई राजनीतिक स्पेस दिएको छ । जे चाहिन्छ त्यो जनमतबाटै जनताले लिए हुन्छ, यहाँ जनता नै सर्वोपरी हो । जनताभन्दा ठूलो कोही पनि छैन । त्यसकारण यो सहमति राज्यको पनि जित हो, जनताको पनि जित हो । यसमा कसैले अन्यथा अर्थ लगाउने प्रयास नगरौँ । सबै सावधान बनौँ । अब हामीले हिंसात्मक गतिविधि गरेर समय खेर फाल्ने अवस्था रहेन ।