
काठमाडौं – सरकारले सीके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’सँग सरकारले गरेको सम्झौतामाथि आपत्ति जनाउँदै नेकपाका सांसद त्रुटि सच्याउँदै अर्काे वक्तव्य जारी गर्न माग गरेका छन् ।
आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै रावलले भने, ‘त्यो सहमतिमा प्रयोग भएका शब्दहरू नेपालको संविधान अनुकूल छैनन्, नेपालको स्वाधिनता र स्वतन्त्रता प्रतिकूल छन् ।’
सरकारले सीके राउतसँग सहमति गरेको थाहा पाएको बताउँदै रावलले विभिन्न समुदायलाई वार्तामा ल्याउनु र देशको मूल प्रवाहमा ल्याउनु राम्रो र स्वागतयोग्य भएपनि सहमतिमा प्रयोग भएका शब्द आपत्तिजनक भएका बताए ।
‘देशभक्त नागरिकको दृष्टिकोणबाट मैले भन्नुपर्छ – त्यो सहमतिमा प्रयोग भएका शब्दहरू नेपालको संविधान अनुकूल छैनन्, नेपालको स्वाधिनता र स्वतन्त्रता प्रतिकूल छन्,’ उनले भने, ‘संविधानको धारा ५ उपधारा २ मा उल्लेख छ – राष्ट्रहित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ । हामी सबैलाई थाहा छ सीके राउत जीले राष्ट्रिय एकता र अखण्डताविरुद्ध उहाँले विष बमन गर्नुभएको छ ।’
राउतले कतै पनि आफूले विगतमा नेपाल राष्ट्रविरुद्ध ओकलेका विष फिर्ता लिए भनेर कुनै शब्द प्रयोग नगरेको स्पष्ट पार्दै उनले भने, ‘म नेपाल सरकारलाई के सुझाव दिन चाहन्छु भने यसमा भएका त्रुटि सच्याइयो, एउटा वक्तव्य जारी गरेर आजसम्म भनेका कुरा फिर्ता गरेको र अब उपरान्त नेपालको अखण्डता अनुरुप शान्तिपूर्ण प्रतिस्पर्धामा जान म तयार छु भनेर भन्नुपर्छ ।’
संविधानको धारा ५६ उपधारा ५ मा संघीय कानून बमोजिम स्वायत्त क्षेत्रको परिकल्पना गरिएपनि संविधानले स्वशासनको परिकल्पना नगरेको बताउँदै उनले सीके राउतसँगको सहमतिमा स्वशासन शब्द प्रयोग हुनु आपत्तिजनक भएको बताए । एकातिर जनमत संग्रहको कुरा हुनु र अर्काेतिर नेपाली नागरिकता दिने प्रावधान खुकुलो हुनुले विदेशी भित्रिने खतराबारे रावलले प्रष्ट पारे ।
‘चीन र भारतजस्ता विशाल देशको बीचमा रहेको हाम्रोजस्तो देशमा विभिन्न बहानामा विदेशी भित्र्याएर तराई–पहाडका दाजुभाइलाई अल्पमतमा नपरौं भनेर भन्न चाहन्छु,’ उनले भने । सीके राउत र उनका कार्यकर्ताले जनअभिमन भनेको जनमत संग्रह हो भनेर भनिरहेको बताउँदै रावलले अर्काे वक्तव्य जारी गर्न जोडदार माग गरेका छन् ।