२२ जेठ २०८३, शुक्रबार

संसदमा प्रमुख प्रतिपक्षीको प्रश्न- सुर्खेतमा विकास गर्न कहाँको हिउँले रोक्यो ?

फागुन २६, २०७५
संसदमा प्रमुख प्रतिपक्षीको प्रश्न- सुर्खेतमा विकास गर्न कहाँको हिउँले रोक्यो ?

सुर्खेत- कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट आएको तीन चौमासिक बितेपनि विकासे खर्च नगरेको भन्दै सरकारको चर्को आलोचना गरेको छ ।

आइतवार प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले हिमाली जिल्लामा हिँउ परेर काम रोकिएको हुनसक्ने बताए । ‘हिमाली जिल्लामा त आजकल हिँउ परेर अस्तव्यस्त जनजीवन छ,’ उनले भने, ‘सुर्खेत, दैलेखलगायतका जिल्लामा कहाँको हिउँले सरकारलाई काम गर्न दिएन ?’

उनले सरकारले अबको चार महिनामा जहाँ सकिन्छ, त्यहाँ काम गरेर विकासे बजेट खर्च गर्नुपर्नेमा जोड दिए । ‘प्रदेशमा आएको बजेट खर्च गर्नुपर्छ । त्यो विकासे बजेट खर्च गर्ने संयन्त्र नभए स्थानीय तहमा जिम्मा दिउँ,’ उनले थपे, ‘त्यसको अनुगमन गर्ने जिम्मा मन्त्री र त्यस क्षेत्रका प्रदेश सभा सदस्यलाई दिउँ । यसरी अघि बढन सके बजेट खर्च गर्न सकिन्छ ।’

'कानून आवश्यकता अनुसारका बनाइसकेको र बनाइरहेको मुख्यमन्त्री शाहीले बारम्बार भन्दै हिँड्नुहुन्छ,' उनले भने, ‘उहाँलाई काम गर्न कुन कानूनले रोकेको हो मलाई थाहा भएन ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभिन्न सञ्चार माध्यममा संघीय सरकारको कारण केही गर्न नसकिएको भन्ने भनाइप्रति लक्षित गर्दै नेता शाहीले निराशाजनक कुरा गरे मन्त्रीहरू निराश हुने वातावरणको सिर्जना हुने र त्यसले सबै कर्णालीवासीलाई निराश बनाउने बताए । नेता शाहीले सरकारले माथेमा आयोगको गुरूयोजना अनुरूप वीरेन्द्रनगरको विकास निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले खुलामञ्च नजिकैको जग्गामा सबै मन्त्रालयका भवन बनाउने भन्दै संघीय सरकारलाई पठाएको पत्रतर्फ इंगित गर्दै भने, ‘खाली जमिनमा भवन बनाउँदै गए भविष्यमा भवितव्य आइपरे कहाँ व्यवस्थापन गर्ने ?’ नेता शाहीले बरू बीच बजारमा रहेका दंगा तथा प्रहरी वा सेनालाई हटाएर त्यहाँ भवन बनाउन उपयुक्त हुने सुझाव दिए ।

प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले गाउँ बस्तीमा विप्लव समूहले जनप्रतिनिधि, व्यापारी र व्यवसायीबाट चन्दा आतंक बढाएको बताए । 'अहिले केही स्थानीय तह तथा व्यापारीले चन्दा दिइसकेको मैले पाएको छु । केही जनप्रतिनिधिहरू निराश भएका छन्,’ उनले भने, ‘ती सबैलाई सरकारले सुरक्षाको प्रत्याभूति दिलाई चन्दा आतंकबाट उनीहरूलाई बचाउनुपर्‍यो ।’

प्रदेशसभा सदस्य मिनासिंह रखालले पशुपतिनाथको मन्दिरमा नागा योगीहरूले महाशिवरात्रीको दिनमा नांगो नाच देखाएको बताइन् । ‘हिन्दू धर्म विपरीत समाजमा उच्छृंखल व्यवहार देखाउनेलाई राज्यले कारवाही गरोस्,’ उनले भनिन्, ‘कुनैपनि धर्ममा यस्ता विकृति ल्याउन दिनुहुँदैन । राज्यले धर्मप्रति विद्वेष फैलाउनेलाई कारवाही गर्न आवश्यक छ ।’

प्रदेशसभा सदस्य वद्मीक्वारी बोहोराले डोल्पामा एक लाख मूल्य बराबरका २०० ओटा चौंरी गाई हिमपातका कारण मरेको बताइन् । प्रदेश सरकारले यसबारेमा ध्यान दिनुपर्ने उनको माग थियो ।

salt training

कमेन्ट गर्नुहोस्