
काठमाडौं – चौधरी ग्रुपले राजस्व तथा लगानीबारे सार्वजनिक जानकारी दिने परम्परा अनुसार विज्ञप्ति सार्वजनिक गर्दै १ वर्षमै राजस्वमा ९ खर्ब ६७ करोड योगदान गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरूले सरकारी राजस्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन् ।
आर्थिक वर्षमा संकलन भएको कुल सरकारी राजस्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजस्वको योगदान १ दशमलव ६४ प्रतिशत रहेको छ ।
चौधरी ग्रुपले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा २२.७२ प्रतिशत बढी राजस्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । उक्त वर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजस्वमा योगदान गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा भने यो राजस्व ७३ प्रतिशतले बढी छ । वर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजस्वमा योगदान गरेको थियो ।
‘सरकारी राजस्वमा उच्च योगदान पुर्याउन सकेकोमा हामी गौरवान्वित छौं । नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी उच्च व्यावसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’
चौधरी ग्रुपले चालू आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब लगानी गर्दैछ । केही प्रोजेक्ट सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेका छन् । यस्ता मुख्य प्रोजेक्टहरूमा पाल्पामा देशकै ठूलो मध्येको एक खानी सहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टि प्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सिजी इन्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मोदी जलविद्युत् आयोजना लगायत रहेका छन् ।
सिजी इन्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरूको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फूड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् ।
चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजीलाई फसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । परियोजनामा मात्रै करीब २५ अर्ब लगानी हुनेछ । ‘परियोजना कार्यान्वयनमा सम्वद्ध निकायबाट आवश्यक समर्थन र सहयोग प्राप्त हुने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा लेखिएको छ ।
चौधरी ग्रुपमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । ग्रुपद्वारा उत्पादित वस्तु तथा सेवाको व्यवसायमा हजारौंको सहभागिता रहेको छ । चौधरी ग्रुपले नवलपरासीमा स्थापना गरेको सीजी इन्डस्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्ट मध्येको एक मानिन्छ । ग्रुपले प्रदेश नम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।
चौधरी ग्रुप कर्पोरेट हाउस हो । ग्रुप सम्वद्ध कम्पनीका शेयरधनीले लाभांश कर तिर्छन्, जुन व्यक्तिगत करमा प्रतिविम्बित हुँदैन । ‘चौधरी ग्रुप राष्ट्रकै अग्रणी लगानीकर्ता र करदाता हो । ग्रुपले दशकौंदेखि अनुकूल एवं प्रतिकूल दुवै परिस्थितिमा नेपालमा लगानी विस्तार गर्दै आएको छ । भविष्यमा लगानीमा उच्च बृद्धि गर्दै देशको आर्थिक विकासमा योगदान गर्न संकल्पित रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।