०६ साउन २०८३, बुधबार

१३ औं साग पोखरामा सञ्चालन गर्न सरकारले तयारी थालेको छ : मन्त्री विश्वकर्मा

फागुन २६, २०७५
१३ औं साग पोखरामा सञ्चालन गर्न सरकारले तयारी थालेको छ : मन्त्री विश्वकर्मा

पोखरा- युवा तथा खेलकुद विकास मन्त्री जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग) पोखरामा सञ्चालन गर्ने गरी सरकारले आवश्यक तयारी थालेको बताएका छन् । 

लामो समयको प्रतिक्षापछि पोखरा फूटबल स्टेडियमको आइतवार शिलान्यास गर्दै मन्त्री विश्वकर्माले २०७६ असार मसान्तभित्र निर्माणको काम सम्पन्न गरेर १३ औं दक्षिण एशियाली खेलकुद (साग) सञ्चालन गर्ने बताएका हुन् । 

‘सरकारले दक्षिण एशियाली खेलकुद (साग) सञ्चालन गर्ने उद्देश्यले अगामी असार मसान्तसम्ममा फूटबल स्टेडियमको काम सम्पन्न हुने गरी निर्माण प्रक्रिया अगाडी बढाइएको छ,’ उनले भने, 'तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न दुई जोइन्ट भेन्चर कम्पनीलाई जिम्मेवारी दिइएको छ ।’

मन्त्री विश्वकर्माले पोखरा रंगशालामा महत्वपूर्ण पूर्वाधार विकासको शुरूवात भएको बताउँदै काम सम्पन्न गर्न ठूलो इच्छाशक्ति आवश्यक रहेको बताए । उनले समयमै काम सम्पन्न गर्न पोखरेली खेल प्रेमीहरूले निर्माण कम्पनीलाई वातावरण बनाइदिन आग्रह गरे । ‘निर्माण कम्पनीले पनि अपेक्षाअनुसार काम अगाडि बढाउनोस्,’ उनले थपे, 'तपाईंहरूलाई जुन अपेक्षासहित निर्माणको जिम्मा दिइएको छ, त्यसैअनुसार काम सम्पन्न गरेर उदारणीय बन्नुहोस् ।’

मन्त्री विश्वकर्माले पोखराले खेलकुद क्षेत्रबाट मुलुकको समृद्धि हासिल गर्ने बताउँदै यस क्षेत्रको प्राकृतिक सम्पदाहरूले समेत थप योगदान गरेको बताए ।  

गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखरा खेलकुदको राजधानी भएको बताउँदै यहाँ निर्माण सम्पन्न हुने अन्तर्राष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माणले पोखरालाई अन्तर्राष्ट्रिय स्पोर्टस सिटीको रूपमा विकास गरिनुपर्ने अवस्था सृजना गरेको बताए । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले रंगशालालाई खेलाडीको भाग्य र भविष्यको सुनिश्चित गर्ने खालको रंगशाला बनाउनु पर्नेमा जोड दिए । ‘कसरी रंगशाला प्यारापिटको काम छिटो सम्पन्न गर्न सकिन्छ, त्यसतर्फ सबैको ध्यान पुग्नुपर्छ,’ उनले भने, 'यस रंगशालालाई नेपालकै स्पोर्टस कम्पेलेक्सको रूपमा विकास गरिनुपर्छ ।’

१ अर्ब २८ करोड लागतमा निर्माण प्रक्रिया अगाडि बढाइएको फूटबल स्टेडियम २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेकोे छ । रंगशालाको दर्शक क्षमता १८ हजार ५ सयको हुनेछ भने एथलेटिक्सका लागि ८ लेनको सिन्थेटिक स्पर्ट बनाइनेछ ।  

रंगशालाको निर्माणको लागि भारतको ग्रेट स्पोर्टस् इन्फ्रा प्रा. लि. र काठमाडौं एमए कन्सट्रक्सन प्रा. लि. ले जोइन्ट भेन्चरमा गर्न लागेको हुन् ।

आगामी मंसिरमा दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला फूटबल पोखरा रंगशालामा आयोजना हुने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्