१६ असार २०८३, मंगलबार

सीके राउतका गतिविधिले झस्कियो सरकार, कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट बञ्चित

फागुन २७, २०७५
सीके राउतका गतिविधिले झस्कियो सरकार, कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट बञ्चित

काठमाडौं– नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । 

राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भीआईपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए । सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए । प्रहरी भने मूकदर्शक थियो ।

राउतले भने कार्यकर्तालाई सम्बोधन गरेनन् र पत्रकारलाई पनि प्रतिक्रिया दिएनन् । ‘फ्री मधेस’ लेखिएका झन्डा र ब्यानरसहित उनलाई आइतबार जनकपुरमा स्वागत गरिएपछि सरकार पनि झस्किएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  सरकारलाई धोका दिए सिके राउत समूह समाप्त हुने चेतावनी दिएका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा एक नेपालीको मृत्यु
इथपियोपियन एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले १४९ यात्रुमध्ये एक नेपाली पनि रहेको पुष्टि गरेको हो । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ ।

एयरलाइन्सका अनुसार एक युएनको पासपोर्ट बाहक र अर्का एक नेपालसहित ३५ देशका नागरिक विमानमा सवार थिए । एयरलाइन्सका अनुसार दुर्घटनामा सबैभन्दा धेरै केन्याका ३२ जनाको मृत्यु भएको छ । यस्तै १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ । 

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान बोसोफ्टु शहर नजिकै दुर्घटनामा परेको थियो ।  दुर्घटनामा ८ जना चालकदलका सदस्य  र सबै १४९ जना यात्रुको मृत्यु भएको छ ।

कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट बञ्चित
परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम बनाएको थियो । तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् ।

जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय तोकेको थियो । त्यसपछि पनि पटक पटक निर्देशन दिएको थियो । विभागले यही फागुन ७ देखि १२ गतेसम्म पुनः म्याद दिएको थियो । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले फारम नभर्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिनुभयो । सम्भवत् विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रधानाध्यपकमाथि कारबाही हुने उनले संकेत गरे ।, नेपाल समाचारपत्रमा खबर छ ।

राष्ट्रपति न्यूयोर्क प्रस्थान    
राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ  । राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उहाँले फागुन २८ गते  हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ । 

नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ । राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले नारी राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्र सङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नुहुनेछ ।

चिसोले ३८ भेडाबाख्रा मरे
हुम्लाको सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो । 

हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै गएको पीडित चुमा महताराले बताए । एकै पटक भेडाबाख्रा मर्दा समस्या भएको उनले बताए । एउटाको करीब रु १५ देखि २० हजारसम्म मूल्य पर्ने गरेको छ ।

पाँचौँ महिला साफ फुटबल मङ्गलबारदेखि
पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ ।  शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ । प्रतियोगितामा भाग लिन भूटानको टोली विराटनगर आइपुगेको छ । सो टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्