
सिरहा– भदैया नगरपालिका–१५ स्थित धार्मिक क्षेत्र खुदिभकारी मन्दिर क्षेत्रमा वषौदेखि बासस्थान बनाएका विभिन्न २६ प्रजातिका रैथाने चराचुरुङ्गीको संरक्षण अझै हुन सकेको छैन । करीब ११ कट्ठा जङ्गल क्षेत्रमा अवस्थित सो मन्दिर क्षेत्रमा ११ दर्जनभन्दा बढी सय वर्षअघिको अग्ला सिमल रुख र केही मात्रामा जामुन अन्य प्रजातिका रुख छन् ।
सोही रुखहरुमा वर्षौदेखि रैथाने गरुड, डोकरलगायतका २६ प्रजातिका चराचुरुङ्गीले बासस्थान बनाउँदै आएका छन् । संरक्षण अभावमा सो क्षेत्रमा रैथाने डोकर प्रजातिका चरा मरेका भेटिन्छन् । भदैयाका शिक्षक बिष्णुदेव चौधरीले मन्दिर क्षेत्र परिसरमा जो कोही पनि प्रवेश गर्ने भएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीको संरक्षण हुन सकेका छैन ।
“यी प्रजातिका चराचुरुङ्गीलाई संरक्षण नगरे केही वर्षदेखि भेटिन गाह्रो पर्छ्र”, उहाँले भन्नुभयो । रैथाने प्रजाति लोप हुन नदिन समुदायले संरक्षणमा पहल गर्ने उहाँले बताउनुभयो । मन्दिर समितिले चराचुरुङ्गी संरक्षणका लागि हेरचाह गर्न घरैपिच्छे पालो लगाउने भएको छ । संरक्षणका लागि व्यबस्थापन समिति निर्माण गरिने र संरक्षण क्षेत्रमा चराचुरुङ्गी अवलोकनका लागि मात्र प्रवेश अनुमति दिइने छ ।
चराचुरुङ्गीलाई पानीका लागि तलाउ बनाउने योजना सामुदायको रहे पनि आर्थिक अभावका कारण योजना पूरा हुन नसकेको उहाँले बताउनुभयो । मन्दिर समितिले चराचुरुङ्गीलाई असर पर्ने विषालु औषधि अन्नबाली र खेतबारीमा प्रयोग नगर्न स्थानीयवासीलाई सचेत गराएको छ ।