
काठमाडौं -राजधानीको एकान्तकुनास्थित पानीजहाज कार्यालयका कर्मचारीहरू काम नभएपछि बरण्डामा घाम तापेर दिन बिताउने गरेका छन् ।
फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालयमा १६ जनाको दरबन्दी रहने भनिएता पनि हाल जम्मा ७ जना कर्मचारी छन् । काम नभएपछि कार्यालयमा आएका कर्मचारी दिनभर घाम तापेर बेलुका फर्कने गरेका हुन् । सोमवार लोकान्तरकर्मी कार्यालय पुग्दा कर्मचारीहरू बरण्डामा घाम तापिरहेका भेटिए ।
११ वटा कोठा रहेको उक्त भवन एकान्तकुनास्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यलय भवन हो । काम नभएपछि उक्त कार्यालयलाई चक्रपथ सुधार योजनाले प्रयोग गर्दै आएको छ ।
नीति र नियमित कार्यक्रम अभावका कारण अहिले खासै काम नभएको कार्यालय प्रवक्ता तथा इञ्जिनीयर निरन्जन अर्यालले बताए ।
'अहिले कार्यालय व्यवस्थापनको काम गरिरहेका छौं,' अर्यालले भने, 'दरबन्दी अनुसारका कर्मचारी पनि आइपुगेका छैनन् । कामको अभाव भएकाले हामीले कुनै आधिकारिक सूचना प्रवाह पनि गरेका छैनौं ।'
मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक/एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।
पुस दुई गते प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालयमा ३ गते सञ्चारकर्मीहरू पुग्दा कर्मचारीविहीन र अस्तव्यस्त देखिएको थियो । कार्यालय अस्तव्यस्त रहेको खबर सम्प्रेषण भएपछि कार्यालयले विज्ञप्ति जारी गरेर कर्मचारीहरूले विधिवत रूपमा काम गरिरहेको र हेर्न मन लागेमा कार्यालयमा आउन आग्रह गर्यो ।
अति नै महत्त्वाकांक्षी मानिएको पानीजहाज सञ्चालनको विषय अहिले अध्ययनको क्रममा छ । तर पानीजहाज ल्याउने काम कठिन रहेको जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययन टोलीकै सदस्यहरूले बताउँदै आइरहेका छन् ।
नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोशी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू नेपालमा जलयातायात सञ्चालन कठिन रहेको निष्कर्ष निकालिएको छ ।
स्थलगत अध्ययनमा सहभागी एक सदस्यका अनुसार कोशी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव प्राय: देखिन्छ ।