काठमाडौं– हालै नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति नेपाली कांग्रेसका सांसदहरुले गम्भीर चासो व्यक्त गरेका छन् । दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चासो देखाएको हो ।
सोमबार प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाको प्रमुख सचेतक सरिता प्रसाईं र राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गरी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैलाई पनि कुनै सम्झौता, सहमति गर्ने छुट नभएको जनाएका छन् ।
सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रका लागि जनमत संग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएका छन् ।
सहमतिपश्चात सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको कांग्रेस नेताहरुले जनाएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।