
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन् ।
'कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरूले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्,' उनले भने, 'जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरूलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।'
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतंकित पार्ने काम गरिरहेको उल्लेख गर्दै भने, 'कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।'
यही फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उक्त टोली आएको थियो । उनले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गदै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।