
सुर्खेत- लैंङ्गिक हिंसासम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र 'ओसीएमसी' सेवा लिने महिलाहरुको संख्यामा बढोत्तरी भएको छ । हिंसामा परेका महिलाको उद्दार तथा पूनर्स्थापनादेखि कानूनी परामर्शसमेत दिने केन्द्र कोसेढुंगा सावित हुँदै गएको हो ।
प्रदेश अस्पताल कालागाँउमा रहेको केन्द्रमा पीडित महिलाहरुले सेवा लिने क्रम बढेको केन्द्रकी स्टाफ नर्स रुपा गुरुङले जानकारी दिइन् । उनका अनुसार २०७४ मंसिरमा स्थापना गरिएको उक्त केन्द्रमा असारसम्म जम्मा ७१ जनाले मात्रै सेवा लिएका थिए ।
तर साउनयता भने सेवा लिने पीडित महिलाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । केन्द्रले पीडित महिलाहरुको निःशुल्क उपचार गर्ने, निःशुल्क कानूनी परामर्श दिने, सुरक्षा सेवा प्रदान गर्ने, अल्पकालीन आवासको व्यवस्था गर्ने र पूनर्स्थापना गर्ने कार्य गर्दै आइरहेको उनको भनाई छ ।
‘हामीले बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा, शारीरिक चोटपटक भएकाहरुको निःशुल्क सेवा गर्दै आएका छौं,' उनले भनिन्, ‘त्यसका लागि अहिले तीन जनाको दरबन्दी कायम गरी चौबिसै घण्टा केन्द्र खुल्ला रहने गरेको छ । हामीले पीडितलाई आतेजाते भाडाको पनि व्यवस्था गरेका छौं ।’
केन्द्रकी 'फोकल पर्सन' कल्पना थापाका अनुसार केन्द्र स्थापना भएदेखि मङ्सिरमा ८ जना, पुसमा ७ जना, माघमा ७ जना फागुनमा ८ जनाले सेवा लिएका छन् । त्यस्तै चैतमा ३ जना, वैशाखमा ८ जना, जेठमा १२ जना, असारमा १८ जना साउनमा २० जना महिलाले सेवा लिएका छन् ।
थापका अनुसार भदौमा १८ जना महिलाले सेवा लिएकामा असोजमा २२ जना, कार्तिकमा १६ जना, मंसिरमा १२ जना, पुसमा ९ जना, माघमा २७ जना र फागुन २७ गतेसम्म २६ जनाले सेवा लिइसकेका छन् । ‘चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४० जनाको बलात्कार भएको प्रमाणित भएको छ ।
१२४ जनाले बलात्कारको आरोप लगाउँदै स्वास्थ्य चेकजाँचका लागि केन्द्रमा आएका थिए,’ थापाले भनिन, ‘यौनजन्य हिंसामा १५ जना, घरेलु हिंसामा ८३ जना, तीन जना बेवारिसे, शारीरिक चोटपटकमा ८३ जना र ४ जना मानसिक यातना पाएका महिलाहरुले केन्द्रबाट सेवा लिएका छन् ।’
पीडित महिलाको अवस्था हेरेर सबै सेवा दिइरहेको उनको भनाई छ । ‘हालसम्म प्रहरीबाट मात्रै 'रेफर' भएर हामीकहाँ सेवा लिन आउने गरेका छन्,’ उनले भनिन्, ‘सायद प्रचार प्रसारको अभावका कारण यस्तो भएको हुनसक्छ ।’
उनले सबै पीडित महिलालाई सेवा लिनको लागि सोझै अस्पतालमा आउन आग्रह गरिन् । ‘पुरानो अस्पतालको इमर्जेन्सी वार्डको नजिकै हाम्रो कार्यालय छ,’ उनले भनिन्, ‘पीडामा भएका महिला तथा पुरुष जसले पनि यहाँ आउन र सेवा लिन सक्नेछन् ।’