
सुर्खेत- कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षको उद्घाटनमा लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले लोकान्तरलाई बताए ।
‘अनुसन्धानका लागि १५ दिनभित्र पर्यटन वर्षको खर्च विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ,’ उनले भने, ‘खर्च विवरण आउनेबित्तिकै थप छानबिन गर्नेछौं ।’ लेखा समितिले अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेकाले अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभागीय मन्त्रालय र अन्य जोडिएका निकायलाई पनि पत्र काटिएको सूचना अधिकारी सापकोटाको भनाई छ ।
नौ लाख बढीको खर्च विवरण पाईएन
प्रदेश सभाको सार्वजनिक लेखा समितिलाई प्रदेश सरकारले विभिन्न समयमा फरक फरक खर्च विवरण दिएको समितिका अध्यक्ष दीनबन्धु श्रोष्ठको दाबी छ । ‘मन्त्रालयहरुले अध्ययन उपसमितिलाई बुझाएको खर्चविवरणमा ७८ लाख १४ हजार ६६८ रुपैयाँ रहेको छ,’ उनले भने, ‘यता, महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९७३ रुपैयाँ देखिएको छ ।'
श्रेष्ठका अनुसार महालेखा परीक्षकले नै बिल भर्पाईका आधारमा तयार गरेको अर्को प्रतिवेदनमा ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च उल्लेख भएको समितिले पाएको छ । जसमा ९ लाख २ हजार ८७७ रुपैयाँ खर्च विवरणमा प्रस्तुत हुन नसकेको भन्दै समितिले लाखौँ अनियमितता भएको दावी गरेको हो ।
समितिले सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको ४९ लाख ४१ हजार ७९५ रुपैयाँलाई आधिकारिक मानेको छ ।
‘समितिलाई प्राप्त भएको खर्च प्रतिवेदन फरक फरक प्राप्त भएको छ । यस समिति अन्तर्गत गठन गरिएको उपसमितिले गरेको अध्ययनको प्रतिवेदन र प्रदेश लेखा नियन्त्रकको कार्यालय मार्फत प्राप्त महालेखा परीक्षकको प्रतिवेदन समेत फरक छ,’ श्रेष्ठले भने, ‘गरिएको खर्च समेत सार्वजनिक ऐन, २०६३ बमोजिम नभएको पाइयो ।'
'हामीले प्रदेश सरकारको तर्फबाट संसदमा प्रस्तुत गरेको रकमलाई आधिकारिक मानेका छौँ,' श्रेष्ठले थपे, ‘त्यसो भएर प्रदेश सरकारले गरेको खर्चमा पूर्णरुपमा अनियमितता देखिएको छ । हामीले संलग्न निकाय र व्यक्तिलाई कारवाही गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिइसकेका छौँ ।'