
काठमाडौं – आइतवार इथियोपीयन एयरलाइन्सको एक विमान बोइङ ७३७ म्याक्स ८ दुर्घटनाग्रस्त भएर एक नेपाली सहित १५७ यात्रुको मृत्यु भएपछि मानिसहरू बोइङ विमान चढ्नै पनि डराउन थालेका छन् ।
विमान दुर्घटनाका कारणको अनुसन्धान भइरहेको छ । तर यससँगै बोइङ म्याक्स ८ को सुरक्षामा प्रश्नचिह्न उठेको छ ।
बोइङ म्याक्सको पंखाको डिजाइनका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । यसले इन्धनको खर्च कम गर्छ । यात्रीहरूका लागि यो सुविधानजनक छ । यात्राका बेलामा प्लेन धेरै हल्लिँदैन ।
विमानमा पाइलटहरूका लागि सुविधाहरू दिइएको छ । बोइङमा नयाँ डिस्प्ले प्रविधि प्रयोग गरिएको छ । पन्ध्र इन्चका ठूला स्क्रीन लगाइएको छ जसले गर्दा पाइलटहरूले सजिलै सूचना पाउँछन् ।
यसमा ठूलो र विशेष इन्जिन छ । इन्जिन वातावरणमैत्री छ अर्थात् आवाज कम हुनुका साथै हानिकारक ग्यासको उत्सर्जन पनि कम गर्छ ।
तर बोइङको समस्याको कुरा गर्दा यसको इन्जिन र सफ्टवेयरमा समस्या देखिएको छ र पाइलटहरूमा प्रशिक्षणको अभाव पनि छ । इन्जिनमा समस्याका कारण विमानको गति आफैं घट्ने गर्छ र विमानै बन्द हुन्छ । यो समस्या हल गर्नका लागि बोइङले एमसीएएस नामक सफ्टवेयर लगाएको छ । तर सफ्टवेयरमा पनि समस्या छ र यसले घरिघरि गलत निर्देशन दिने गरेको छ ।
संसारमा केही मात्र पाइलटलाई बी७३७ म्याक्सको सिम्युलेटर प्रशिक्षण दिइएको छ ।
इथियोपीयन एयरलाइन्सको दुर्घटनाग्रस्त विमान बोइङ ७३७ म्याक्स ८ हो र यो मे २०१७ पति व्यावसायिक रूपमा उपयोग गरिन थालेको हो ।
विगतका केही वर्षमा यस्ता विमान लगातार दुर्घटनाग्रस्त भएपछि १९ देशले यसमा प्रतिबन्ध लगाएका छन् ।
एजेन्सी