
विराटनगर - विराटनगरको ए प्लटमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने मागर राख्दै चार जना युवा रिले अनसनमा बसेका छन् । नागरिकता पीडित संघर्ष समिति बनाएर केही समय अघिदेखि नागरिकताको विषयमा आफ्ना समस्या सार्वजनिक गर्दै आएका उनीहरु मध्येका चारजना अनसनमा बसेका हुन् ।
नागरिकता पीडित संघर्ष समितिको नाममा उनीहरुले ४ बुँदे माग समेत अघि सारेका छन् । उनीहरुले आमाको नामबाट नागरिकता पाउनु पर्ने, जन्मसिद्ध सन्तानलाई सहज नागरिकता उपलब्ध गराउनु पर्ने, महिला र पुरुषबीचको विभेदको अन्त्य हुनुपर्ने र सर्वोच्च तथा उच्च अदालतको परमादेशको पालना हुनु पर्ने माग राखेका हुन् ।
बुधवारदेखि अनसनमा बसेका व्यक्तिहरुमा नागरिकता पीडित संघर्ष समितीका अध्यक्ष इशान खान, विराटनगर ६ का मोहम्मद तौसिफ, विराटनगर ९ का मोहम्मद इम्तियाज अन्सारी, विराटनगर १५ का आकाशकुमार हलुवाइ र गुड्डु सिंह छन् । नागरिकता पीडित संघर्ष समितिका अध्यक्ष इशान खानले वर्षौंदेखि नागरिकता विहिनका समस्याको बारेमा आवाज उठाउँदै आएको बताए ।
पटक-पटक नागरिकताको विषयमा राज्यको तर्फबाट पहल गर्दापनि कुनै सुनुवाई नभएपछि आमरण अनुसनमा बस्नु पर्ने बाध्यता भएको खानले बताए । ‘सरकारले हामी युवाको जीवन नै अन्धकार बनाउने काम गरेको छ,' उनले भने, 'हामी युवाहरु अहिले नागरिकता अभावले आफ्नो सम्पुर्ण अधिकारहरुबाट बञ्चित भएका छौ ।’
संघर्ष समितिका सचिव मोहम्मद तौसिफले माग पुरा नुहँदासम्म आन्दोलन जारी राख्ने बताए । केही युवा समस्याको रुपमा देखिएको बाहिर आएपनि बाहिर हजारौं नागरिकता विहिन अवस्थामा रहेकोले उनीहरुलाई पनि नागरिकता दिलाउन लागि पर्ने उनले बताए ।
उनका अनुसार, नागरिकता नहुँदा युवाहरु उच्च शिक्षा, रोजगारी जस्ता अत्यावश्यक अधिकारबाट समेत वञ्चित भएका छन् । रिले अनसनमा बसेका युवाहरुले तत्काल माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।