
विराटनगर- विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनशीप फुटवल प्रतियोगिता हेर्न आएका दर्शकबाट पार्किङको नाममा लिईएको ४० रुपैयाँ हटाईएको छ । मंगलवारको उद्घाटन खेल हेर्न आएका दर्शक मात्र हैन रिपोर्टिङ गर्न गएका पत्रकालाई पनि पार्किङको नाममा ४० रुपैयाँ उठाएपछि पार्किङ रकमको विषय विवादित बनेको थियो ।
बढी रकम लिएको लोषयमा लोकान्तरले समाचार प्रकाशित गरेको करिब १२ घण्टा नबित्दै महिला साफ च्याम्पीयनसिप आयोजक नेपाल फुटवल संघ एन्फाले पार्किङ निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । पार्किङ्ग शुल्क हटाइएको बारेमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लिईएको शुल्क बढी भएको गुनासाहरु आएपछि शुल्क लिन बन्द गरिएको बताए ।
पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै सामाजिक सञ्जालमा आलोचना र जनगुनासो आएपछि महानगरले एन्फालाई निःशुल्क गर्न भनिएको मेयर पराजुलीले बताए । आयोजकले सहिद रंगशालाको पश्चिमपट्टी रहेको आदर्श माध्यामिक विद्यालयको खाली चौरमा पार्किङको व्यवस्था गरेको थियो ।
पार्किङको रकम स्थानीय युवा क्लबलाई उठाउने जिम्मेवारी दिईएको थियो । जिम्मेवारी लिएका ति युवाहरुले सार्क स्तरीय कार्यक्रमको रिपोर्टिङमा गएका पत्रकारदेखि आम दर्शकसँग ४० रुपैयाँ पार्किङ शुल्क लिन थालेपछि धेरै जनाले सामाजिक संजालमा विरोध गरेका थिए ।
नेपाल सरकार, नेपाल फुटवल संघ एन्फा, प्रदेश १ सरकार, राष्ट्रिय खेलकुद परिषद, विराटनगर महानगरपालिका लगायतका सबै शक्ति अहिले विराटनगरमा छ । लगानी पनि त्यही अनुपातमा गरिएको छ । तर पार्किङको नाममा रकम असुल्ने काम प्रतियोगिताको पहिलो दिनको खेलबाट शुरु भएको थियो ।
पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै सामाजिक सञ्जालमा आलोचना शुरु भएको थियो । पार्किङ्ग गरेवापत मोटरसाईकलको ४०, साईकलको ३०, कारको १००, टेम्पोको ७० र सिटी रिक्साको ५० रुपैँयाँ लिदै आएको थियो ।
पार्किङको नाममा मनपरी रकम असुल भएको भन्दै खेल हेर्न जाने दर्शक मात्र हैन त्यहाँ खेलको रिपोर्टिङ गर्न जाने पत्रकारले पनि असन्तुष्टि व्यक्त गरेका थिए । हाल एन्फाले आर्दश माध्यामिक विद्यालयमा खेल अवधिभर २० हजार रुपैया रेखदेखको लागि रकम दिएको छ । स्कुल मैदान भित्र स्कुल सुरक्षा गार्ड जेजुराम चौधरीलाई पार्किङ्ग गरिएका सवारी साधनको सुरक्षा गर्नेछन् ।