
काठमाडौँ — नेत्रविक्रम चन्द समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारूढ नेकपाकै शीर्ष नेताहरूले असन्तुष्टि जनाएका छन् ।
निर्णय गर्नुअघि सरकारले पार्टीका मुख्य नेताहरूसँग छलफल नगरेको भन्दै उनीहरूले यस्ता निर्णयको स्वामित्व लिएर हिँड्न समस्या पर्ने उल्लेख गरेका हुन् ।
सरकारले चन्दको गतिवधि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सचिवालयमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजीको भेला भएको थियो । नौ सदस्यीय सचिवालयका बहुमत सदस्य सहभागी भेलामा नेताहरूले चन्दका गतिविधि नियन्त्रण गर्ने सरकारको निर्णयको समीक्षा गरेका थिए ।
नेता नेपालले संसद्मा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको ‘अपरिपक्व निर्णय’ भनेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।