
धनगढी- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलाली जिल्लामा भएको तोडफोड तथा आगजनीको जिम्मा लिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकास्थित जंगलमा जन्तीबाट फर्किन लागेको बसमा गरिएको आगजनीको जिम्मा लिएको हो । जिल्लाको गौरीगंगा नगरपालिका–८ स्थित बडैपुरको जंगलमा बिहीबार राति भएको म १ ख ४४१ नम्बरको बसमा भएको आगजनीको जिम्मा लिएको हो ।
नेकपाका जिल्ला इन्चार्ज विवेक कुमालले बन्दको अवज्ञा गरेकोले आगजनी गरेको बताए । तर उनले उक्त बस बिहेको नभई नियमित रुटमा सञ्चालन भएको जिकिर गरे ।
प्रहरीका अनुसार सो बस भजनी नगरपालिका १ बाट बिहे सकेर महेन्द्रनगरतर्फ फर्कँदै गरेको अवस्थामा ८–९ जनाको समूहले सडकमा रुख ढाली बाटो अवरोध गरेर आगजनी गरेको हो । चालकसहित १२ जनालाई बसबाट झारेर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको साडेपानीमा एक ट्रकमा भएको तोडफोडका साथै केही स्थानमा त्रास फैलाउने उद्देश्यले शंकास्पद वस्तु समेत राखिएको पाइएको छ । सो शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुर बेतकोट नपा २ दैजी बस्ने वर्ष ३३ को कोषराज भट्ट, जिल्ला कञ्चनपुर भिमदत्त नपा ५ कटान बस्ने वर्ष २२ को सुशिल चन्द र जिल्ला डोटी बिपिनगर ७ बस्ने वर्ष १८ का धनबहादुर बमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–१ गोदावरीमा बन्दमा गाडी किन चलाएको भन्दै जलाउने धम्की दिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तर ती ३ जना आफ्ना कार्यकर्ता नभएको जिल्ला इन्चार्ज कुमालले लोकान्तरलाई बताए । पार्टीको कैलाली, कञ्चनपुर र डोटीको कुनैपनि संगठनमा ती व्यक्तिहरू आबद्ध नभएको बताउँदै उनले आफ्ना कार्यकर्ता नरहेको स्पष्ट पारे ।
यसैबीच नेकपाले आहृवान गरेको बन्दले जनजीवन प्रभावित बनेको छ । सवारी सधान, कलकरखाना, शैक्षिक संघ संस्था बिहानैदेखि ठप्प रहेका छन् ।