
काठमाडौं – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले उसको स्वतन्त्रतासँगै स्वतन्त्र भएको नेपालको करीब ६० हजार वर्ग किलोमिटर भूमिमा कब्जा जमाएर उपनिवेश कायम गर्नु स्वतन्त्रता र मानव अधिकार उल्लंघनको ठोस उदाहरण भएको बताएका छन् ।
जेनेभाको ‘स्विस प्रेस क्लब’मा ग्रेटर नेपाल, पञ्जाव, मद्रास, मणिपुर र त्रिपुराका मानवअधिकार प्रतिरक्षाका क्षेत्रमा संघर्षरत प्रतिनिधिका निम्ति आयोजित प्रेस भेटघाट कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले नेपाली भूमि फिर्ता हुनुपर्ने माग गरेका छन् ।
बीबीसी, सीएनएन, स्विस टेलिभिजन र जेनेभामा फेब्रुअरी २५ देखि भइरहेको मानवअधिकार परिषद्को ४० औं सत्रका गतिविधिबारे समाचार संकलन गर्न आएका करीब डेढ दर्जन पत्रकारसँग संवाद गर्दै मोर्चाका अध्यक्ष नेपालले ९० वर्ष ब्रिटिश उपनिवेशविरुद्ध लडेको भारतले आफू स्वतन्त्र हुनासाथ त्यसरी नै र त्यतिबेलै स्वतन्त्र भएको नेपाली भूमिमा जबर्जस्ती कब्जा जमाउनु मानवअधिकार, प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको चरम उपहास हो भन्दै ग्रेटर नेपालको अवधारणालाई स्पष्ट पार्ने प्रयास गरेको बताएका छन् ।
मोर्चाका अध्यक्ष नेपालले पत्रकारलाई ग्रेटर नेपालका नक्सा बाँड्दै आफूलाई संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक बताउने भारतले आजको २१ औं शताब्दीमा उपनिवेशजस्तो अमानवीय, अप्रजातान्त्रिक र मानव स्वतन्त्रता विरोधी क्रियाकलाप देखाउनु निन्दनीय भएको बताएका छन् । उनले एकातिर भारतले भारतभित्रकै अल्पसंख्यकमाथि धार्मिक विभेद र छुवाछूतको व्यवहार गरिरहेको छ भने अर्कातर्फ नेपालमा आफ्नो अर्धसैनिक बल राखेर नेपाली जनतालाई त्रास र मानसिक पीडामा राख्दै आएको बताए ।
भारतले सैनिक बलको आडमा प्रजातन्त्र र स्वतन्त्रताको गला दबाइरहेको आरोप लगाउँदै ग्रेटर नेपालका अभियन्ता नेपालले नेपाली भूमिमा भारतीय उपनिवेशको अन्त्यका लागि सहयोग गर्न त्यहाँ उपस्थित अन्य प्रतिनिधिलाई आग्रह गरेको पनि बताएका छन् । उनले नेपालमा सडकमा ग्रेटर नेपालको आवाज उठाउँदा प्रहरीले पक्राउ गर्ने र प्रहरी हिरासतमा राख्ने गरेको बताउँदै विश्व समुदायले तिरस्कार गरेको उपनिवेशजस्तो अमानवीय व्यवहारलाई भारतले अँगालिरहेकोमा मानवअधिकारको क्षेत्रमा लडिरहेकाहरूले खुलेर भर्त्सना गर्न आग्रह गरेका छन् ।
प्रेस भेटघाटमा सहभागी अन्य प्रतिनिधिले भारतले अल्पसंख्यकमाथि अमानवीय व्यवहार गरेकोप्रति अन्तर्र्राष्ट्रिय जगत्को ध्यान जानुपर्ने भनेको मोर्चाका अध्यक्ष नेपालले बताए ।