
काठमाडौं – भीगन वातावरण अभियन्ता किशोरी ग्रेटा थनबर्गलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ । विश्वव्यापी जलवायु परिवर्तन सम्मेलनका क्रममा उनले विश्व नेताहरूलाई जलवायु परिवर्तनका सम्बन्धमा केही नगरेको भनी गाली गरेर प्रसिद्धि कमाएकी थिइन् ।
नर्वेको सोसलिस्ट लेफ्ट पार्टीका तीन सांसदले थनबर्गलाई जलवायु परिवर्तनविरुद्धको किशोर अभियानको नेतृत्व गरेको प्रोत्साहनका लागि मनोनित गरेका हुन् ।
‘हामीले ग्रेटालाई मनोनयन गरेका हौं किनकि युद्ध र द्वन्द्वको सबभन्दा प्रमुख कारण जलवायु परिवर्तनले निम्त्याएको जोखिम हुनसक्छ,’ सांसद फ्रेड्डी आन्द्रे ओएव्स्तेगार्डले बताए ।
‘ग्रेटाले शुरू गरेको ठूलो अभियान शान्तिका लागि निकै महत्त्वपूर्ण योगदान हो ।’
यी १६ वर्षीया किशोरी अभियन्तालाई टाइम पत्रिकाले सन् २०१८ को सबभन्दा प्रभावशाली किशोरमध्ये एकको सूचीमा राखेको थियो ।
थनबर्गले आफू नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्दा सम्मानित अनुभव गरिरहेको बताएकी छन् ।
थनबर्ग आफ्नो परिवारसँगै भीगन बनेकी छन् र विमानयात्रा गर्दा अत्यधिक कार्बन उत्सर्जन हुने थाहा पाएपछि विमान चढ्नै बन्द गरेकी छन् । उनले आफ्ना अभियानका कारण विश्वव्यापी पहिचान बनाएकी छन् ।
अघिल्लो वर्ष यी किशोरी अभियन्ताले पोल्यान्डमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा प्रवचन दिएकी थिइन् र जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक नलिएकोमा सांसदहरूलाई केटाकेटी संज्ञा दिएकी थिइन् ।
विश्वका नेताहरूले आफ्ना सन्तानलाई माया गर्ने तर जलवायु परिवर्तनमा काम नगरेर बालबालिकाको भविष्य लुटिरहेको उनले बताएकी थिइन् ।
उनले स्विडेनको संसदबाहिर एक बच्चा हडताल शुरू गरेर प्रसिद्धि कमाएकी थिइन् ।
भीगनन्युज डट्कोबाट