
कास्की– गण्डकी प्रदेशका दुई प्रमूख नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । सरकारले विषादी अवशेष पत्ता लगाउने प्रयोगशाला स्थापना गरीे प्रदेशमा भित्रिने तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्ने भएको हो ।
सरकारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएका पाईएमा नष्ट गर्ने उद्धेश्य राखेको छ । तरकारी, फलफूल, खाद्यान्नको विषादी परीक्षणका साथै निर्धारित गुणस्तर अनुसारका पशुपंक्षी तथा पशुजन्य पदार्थको मात्र आयात गर्ने तयारी सरकारको छ ।
प्रयोगशालाको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याङ्जाको मालुङ्गामा १४ रोपनी जमीनको व्यवस्था गरेको जनाएको छ । प्रयोगशाला राख्न जमीनको प्रबन्ध भएपनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्कालका लागि घर भाडामा लिएर चैत दोस्रो हप्ताभित्रमा प्रयोगशाला स्थापना गर्ने मन्त्री लेखबहादुर थापाले बताए ।