
जनकपुरधाम- भारतीय राजदूत मंजिभ सिंह पुरीले रेल निर्माणको कामको प्रगतिको अवस्था निरीक्षण गर्नका लागि ट्रली चढेर यात्रा गरेका छन् ।
शनिवार जनकपुरधाम आइपुगेका भारतीय राजदुत पुरी अचानक जनकपुरधाम रेल्वे स्टेसन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारीहरू चकित भएका थिए । पुरी र उनको टोली दुई वटा ट्रलीमा चढेर २९ किलोमिटर दुरीसम्मको निरीक्षण गर्न गएका हुन् ।
नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज बिनोद कुमार ओझाका अनुसार भारतीय राजदुत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन ।
नेपालमा भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिबाससम्म भइरहेको रेल निर्माण कामको जिम्मेवारी भारत सरकारले लिएको हो । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भरहेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भएको हो । तर हालसम्म रेल कहिले सञ्चालनमा आउनेछन् भन्नेबारे टुंगो लाग्न सकेको छैन ।

‘अहिले भारतीय पक्षद्वारा भइरहेको निर्माण कार्यनै सम्पन्न हुन सकेको छैन,’ साइट कार्यालय प्रमुख ओझाले भने, ‘कहीं स्टेसनमा रङ रोगनको काम बाँकी छ भने कहीं शौचालय निर्माणको काम बाँकी छ । कतै निर्माण भएको रेल स्टेसनमा प्लास्टरकै काम बाँकी छ ।' जनकपुरधाम रेल्वे स्टेसनमा अहिले लाइट जडान गर्ने काम हुँदैछ ।
रेल इन्जिन र बोग्गी किन्ने कामका लागि नेपाल सरकारले प्रक्रिया अगाडि बढाएको भएपनि हालसम्म रेल किनिएको छैन । रेल किनेपछि मात्र रेल सेवा सञ्चालनमा आउनेछ ।