
तौलिहवा- सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागिपरेको भन्दै राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले आपत्ति जनाएका छन् ।
शनिवार जनताबीच राप्रपा (संयुक्त) कार्यक्रम अन्तर्गत बाल मन्दिरको मैदानमा आयोजित आम सभालाई सम्बोधन गर्दै राणाले भने, ‘सेना परीचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहिने, प्रधानमन्त्री स्वयमले सेना परिचालन गर्न सक्ने तयारी आपत्तिजनक छ । प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न उद्दत छन्, जो हामीलाई स्वीकार्य छैन ।’
नेत्र विक्रम चन्दलाई इंगित गर्दै प्रधानमन्त्रीले घुमाउरो पारामा धम्की दिएको भन्दै राणाले आफ्नो निष्ठामा सम्झौता नगर्ने भन्दै चुनौती दिए । ‘प्रधानमन्त्रीले हामीलाई धम्की दिनुभयो तर धर्म संस्कृति परम्परा, नेपाली जनताको हक सुरक्षित गर्न हामी डग्मगाउदैनौं, ' उनले भने ।
सीके राउतले राष्ट्रिय अखण्डतामाथि चुनौती दिएको बखतमा प्रधानमन्त्री ओलीले मौनता साँधेको भन्दै राणाले सरकारको आलोचना गरे । ‘नेपाली अस्तित्व र अखण्डतामाथि प्रश्न उठाइँदा पनि प्रधानमन्त्री बोल्दैनन् । त्यसकारण प्रधानमन्त्री ओलीलाई सोध्न चाहन्छु, तपाईको राष्ट्रियता कहाँ हरायो ?’
कांग्रेस र कम्युनिष्टहरूले धर्मनिरपेक्ष लादेर देश र जनतालाई अन्याय गरेको बताउँदै उनले भने, 'धर्मिक साम्राज्य कायम गर्ने विदेशीहरूको बदनियत स्वीकार गरेर कांग्रेस र कम्युनिष्टहरूले कसैसँग सल्लाह नगरी धर्मनिरपेक्ष लादेर अन्याय गरे ।’