
काठमाडौं- गत वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा रिलिज गरिने भएको छ । दर्शकहरुको चाहना बमोजिक फिल्म पुनः रिलिज गर्न लागिएको निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए ।
गिरीले फेसबुकमा एक स्टाटस लेख्दै फिल्म आउँदो वर्ष २०७४ को बैशाख १३ गतेबाट प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।
हलमा रिलिज भएको झण्डै डेढ वर्ष बित्दापनि फिल्म युट्युबमा सार्वजनिक गरिएको छैन।
युट्युबमा फिल्म पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले युट्युबमा रिलिज गर्नुभन्दा अगाडी पुनः हलमा रिलिज गर्ने निर्णय लिएको हो । यद्यपी निर्माता तथा कलाकार गिरीले फिल्म युट्युबमा रिलिज गर्ने बताएपनि कहिले गरिने अहिलेसम्म खुलाएका छैनन।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, शिवहरी पौडेल, स्वरुपपुरुष ढकाल, स्वस्तिमा खड्का, वर्षा राउत लगायतको अभिनय छ ।