काठमाडौँ, २ चैत - व्यवस्थापिका–संसद्मा अहिले कुल ५९४ सांसद छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १९ साउनमा कांग्रेस, मधेसी मोर्चालगायतको समर्थनमा प्रधानमन्त्री बन्दा उनले ३ सय ६३ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री निर्वाचनका वेला प्रचण्डलाई मत दिन मधेसी मोर्चाले तीनबुँदे सम्झौता गरेका थिए । तर, मंगलबार मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि पनि सरकारसँग आवश्यक दुईतिहाइ मत भने सुरक्षित नै छ, आजको नयाँ पत्रिकामा खबर छ ।
बहुमतका लागि २ सय ९८ मत आवश्यक पर्छ । संसद्मा मोर्चाका ३६ र संघीय गठबन्धनको ४१ मत छ । यी दुवै गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि अझै प्रधानमन्त्रीसँग ३२२ मत सुरक्षित छ ।
प्रधानमन्त्रीको पक्षमा यसबीचमा थप २५ मत थपिएको छ । तत्कालीन अवस्थामा प्रधानमन्त्रीको विपक्षमा रहेको राप्रपा नेपाल एकीकरणपछि राप्रपा बनेको छ । उसको संसद्मा ३७ मत छ । त्यसमध्येको २५ सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरेका थिए । प्रधानमन्त्रीले राप्रपाका अध्यक्ष कमल थापालगायतलाई मन्त्रिमण्डलमा सहभागी गराई सो मतलाई पनि सुरक्षित गरेका छन् ।