०३ असार २०८३, बुधबार

गरुडा एयरलाइन्सद्वारा बोइङ ७३७ म्याक्स ८ को खरिद रद्द

गरुडा एयरलाइन्सद्वारा बोइङ ७३७ म्याक्स ८ को खरिद रद्द

काठमाडौं – इन्डोनेसियाको राष्ट्रिय ध्वजावाहक गरुडाले ४९ वटा बोइङ ७३७ म्याक्स ८ जेट विमानहरूको खरिद अर्डर रद्द गरेको छ । लगातार दुईवटा म्याक्स ८ विमान दुर्घटना भएपछि यात्रुहरूको विश्वास गुमेका कारण गरुडाले यसको अर्डर रद्द गरेको हो । 

यो मोडलको विमान औपचारिक रूपमा रद्द गरिएको यो पहिलो अवसर हुनसक्छ । गरुडाका प्रवक्ता इख्सन रोसनले भने, ‘हामीले बोइङलाई पत्र लेखेर अर्डर रद्द गरिएको जानकारी दिएका छौं ।’ बोइङले पत्रको जवाफ दिन बाँकी रहेको गरुडाले जनाएको छ । 

इथियोपीयन एयरलाइन्स दुर्घटनापछि संसारभरिका म्याक्स ८ विमानमाथि एयरलाइन्सहरूले उडान प्रतिबन्ध लगाएपछि बोइङले यसका कमीकमजोरीलाई सुधार्ने प्रयास गरिरहेको छ । विमान खरिद गर्ने एयरलाइन्स कम्पनीहरूले

दुईमध्ये एक वैकल्पिक सुरक्षा फीचरहरू जडान गर्नैपर्ने बाध्यता बोइङले गराउने आशयका रिपोर्टहरू आएका छन् । 

सुरक्षा उपकरणले प्रमुख सेन्सरहरूबाट आउने गलत सूचनाका बारेमा पाइलटहरूलाई सचेत गराउनेछ । अहिले बनिरहेका सबै ७३७ म्याक्समा यो उपकरण जडान हुनेछ । बोइङले जेट विमानमा यो उपकरण राखेर अर्को हप्तासम्ममा पूर्णता दिने परिवर्तनका बारेमा जानकार दुई व्यक्तिले बताएका छन् । 

विमानमा गरिएका यी सुधारको पैसा तिर्ने कि नतिर्ने भन्ने निर्णय एयरलाइन्सहरू आफैंले लिनेछन् । विमान उद्योगमा उत्पादकहरूले थप केही सुधार वा जडानमा थप पैसा लिनसक्ने सामान्य अभ्यास हो । 

गरुडाले ५० वटा ७३७ म्याक्स ८ विमान अर्डर गरेकोमा एउटा पाइसकेको छ । सबै विमानको गरी मूल्य ४.९ अर्ब डलर पर्छ । 

गरुडाले पाइसकेको विमान फिर्ता गर्ने नगर्ने विषयमा पनि कुराकानी गरिरहेको एयरलाइन्सका प्रवक्ताले एएफपीलाई बताए ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्