काठमाडौं – राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले सडकमा बेवारिसे अवस्थामा छाडिएका गाईवस्तुको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् रावलले सडकमा कष्टकर ढंगले रहिरहेका गाईवस्तुका लागि गौशाला निर्माण गरी संरक्षण गर्न सकिने विकल्प समेत सुझाइन् ।
‘दाङमा यस्ता गाईवस्तुको संरक्षणमा स्थानीय युवाहरू नै जुटेका रहेछन् । ४ बिघा जग्गा भाडामा लिएर उनीहरूले शुरू गरेको गौशालामा अहिले २ सयभन्दा बढी गाई राखिएको रहेछ । गाईवस्तुको मलमूत्र बिक्री र त्यहाँबाट उत्पादन हुने मल सदुपयोग गरी खेतीपाती गर्दा उनीहरूले वार्षिक ६/७ लाख रुपैयाँ आम्दानी समेत गरिरहेका रहेछन्,’ उनले भनिन्, ‘देशका अन्य ठाउँमा समेत यो विकल्पतर्फ सरकारले सोच्ने पो हो कि !’
उनले सडकमा जथाभावी गाईवस्तु छाड्नेलाई कारवाही गर्न पनि माग गरिन् । ‘दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ, यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो,’ उनले भनिन्, ‘सडकमा गाईवस्तु जथाभावी छाड्नेलाई कारवाही किन हुँदैन ? यस्तो अमानवीय कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याइयोस् ।’
काठमाडौं मात्र नभएर धनगढी लगायतका शहरमा गाईवस्तु जथाभावी सडकमा छाडिँदा समस्या भइरहेको सांसद रावलको भनाइ छ ।
साथै उनले काठमाडौंको सडकमा २० हजारभन्दा बढी कुकुरहरू रहेको भन्दै यसले पारिरहेको अप्ठ्यारोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।
‘सडकमा रहेका यस्ता कुकुरहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान तुरुन्त जाओस्, यिनीहरूलाई कतै एकतृत गरेर व्यवस्थापन गर्ने या अन्य कुनै विकल्प हुन्छ, त्यसतर्फ यथाशीघ्र सोच्न सम्माननीय अध्यक्ष महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।