
सन् २००६ मा हलिउड निर्देशक ज्याक स्नाइडरले ३०० नामक फिल्म बनाएका थिए । उक्त स्टाइलिश ब्लकबस्टर फिल्ममा ३०० जना स्पार्टावासीले तीन लाख पर्सियन सैनिकसँग युद्ध गरेको देखाइएको थियो ।
अक्षय कुमारको नयाँ फिल्म केसरीले त्यही ३०० फिल्मको झल्को दिन्छ किनकि यसमा पनि त्यस्तै किसिमको कथा छ । यहाँ सन् १८९७ को सरगढी लडाईंमा २१ जना शिख सैनिकले १० हजारभन्दा अफगानहरूविरुद्ध लडेको देखाइएको छ ।
केसरीको शीर्षक केसरी रंगको पगडीबाट लिइएको हो र फिल्मका प्रमुख पात्र हवल्दार इशर सिंहले युद्धमा जाँदा त्यस्तो पगडी लगाउँछन् । यो उनको शहादतको रंग हो अनि उनको बलिदानको रंग भएको फिल्मले बताउँछ ।
केसरी फिल्ममा मुटु हल्लाउने केही क्षण, रोमाञ्चकारी केही युद्ध दृश्य छन् र तिनलाई अक्षय कुमारले इमान्दारीका साथ निर्वाह गरेका छन् । तर फिल्मको पटकथा सुस्त गतिको छ र झर्कैै लाग्ने गरी उपदेश र कमजोर चरित्रचित्रण छ ।
यो अक्षय कुमारको वान म्यान शो हुनु पनि समस्याको एक भाग हो । पटकथा लेखकहरूले अन्य चरित्र विकसित गर्न वा तिनमा ज्यान भर्न खासै चासो देखाएका छैनन्, चाहे ती शिख सैनिक हुन्, बेलायती अधिकारी हुन् वा अफगानी खलनायक हुन् ।
फिल्मको कथा पूर्वानुमान लगाउन सकिने किसिमको छ, युद्धका केही दृश्यहरू तन्काइएका छन् र यसले गर्दा फिल्मले दर्शकलाई थकाउँछ ।
निर्देशक अनुराग सिंहले राष्ट्रिय पुरस्कार प्राप्त फिल्म पञ्जाब १९८४ बनाएका थिए र त्यसमा उनले पञ्जाब विद्रोहताका एक आमा र उनको हराइरहेको छोराको कथा भनेका थिए ।
यस फिल्ममा चाहिँ उनले अहिलेसम्म पनि सम्झना गरिने सरगढी युद्धको बलिउडी संस्करण प्रस्तुत गरेका छन् । उनले बेलायती सेनाको ३६औं शिख रेजिमेन्टका बहादुर सिपाहीवरिपरि कथानक बुनेका छन् । ती बहादुर सिपाहीले आफ्नो शूरताका लागि बेलायती सरकारबाट अर्डर अफ मेरिट सम्मान पाएका थिए ।
यो पृष्ठभूमिमा गजबको फिल्म बन्नुपर्ने हो तर फिल्मको कथानक कमजोर छ । पहिलो हाफ साह्रै सुस्त छ । ओपनिङ दृश्य चाहिँ उत्कृष्ट छ जसमा इशर सिंहले एक अफगान महिलाको टाउको काटिनबाट बचाएर भद्रपना तथा बहादुरी देखाएका छन् । त्यसपछि अतिवादी अफगान धर्मगुरु रिसाउँछन् र युद्धको घोषणा गर्छन् । उनले धर्म र जिहादका नाममा अन्य अफगानी प्रमुखको समर्थन प्राप्त गर्छन् ।
सिंहलाई उनका हाकिमहरूले सरगढीमा तैनाथ गर्छन् । त्यहाँ ३६औं शिख रेजिमेन्टको दुर्गति उनले देख्छन् । सैनिकहरू युनिफर्म लगाउँदैनन् अनि भाले जुधाएर टाइमपास गर्छन् ।
चक दे इन्डियाबाट प्रेरित भएर सिंहले रेजिमेन्टमा अनुशासन कायम गर्छन् र उनीहरूलाई एकत्रित टोलीका रूपमा लडाईं गर्न तयार पार्छन् ।
साँच्चै भन्नुपर्दा फिल्ममा रहेको हास्यले अलिअलि मनोरञ्जन दिन्छ । तर इशर सिंह र उनकी पत्नी (परिणिती चोपडा) बीचका दृश्यहरू झूर छन् । घरमा पत्नी छोडेर आएका इशरले उनीसँग काल्पनिक संवाद गरेका दृश्य धेरै त छैनन्
तर तिनले फिल्मको गति घटाउँछन् । यसै पनि फिल्म ३० मिनेट बढी नै छ ।
त्यसपछि दुई धर्मबीचको द्वन्द्व देखाइएको छ । मुसलमान सैनिकहरूलाई जंगली, धोकेबनज आक्रमणकारीका रूपमा देखाइएको छ । उनीहरू आफ्ना शत्रुका लाशबाट जे पाइन्छ त्यही चोर्न तत्पर रहन्छन् । उता सम्मानयोग्य शिखहरू भने अफगानी गाउँलेलाई मस्जिद बनाउन सहायता गर्छन् र मर्न लागेका आफ्ना सैनिकलाई पानी पिलाउँछन् ।
यो फिल्मले युनिभर्सल रेटिङ कसरी पायो भनी आश्चर्य लाग्छ । फिल्ममा नियमित रूपमा तरवार र भाला शरीरमा रोपिएको, अंगभंग भएको, रगतपच्छे भएको र एउटा दृश्यमा त झन् चारजना सैनिकलाई अक्षयले तरवार घोपेको देखाइएको छ ।
क्यामरावर्क प्रभावशाली छ ।
अक्षय कुमारको अनुहार ठूलो पगडी र ठूलो दाह्रीमा च्यापिएको छ तर उनी इशर सिंहको एकोहोरो लगन चित्रण गर्न सफल भएका छन् । उनले जोश जगाउने संवाद र खतरनाक युद्ध दृश्य विश्वसनीय तरिकाले देखाएका छन् ।
तर फिल्म समग्र रूपमा राम्रो उद्देश्यका साथ बनाइएको भए पनि लम्बेतान छ । थप धारिलो स्क्रिप्ट र बुद्धिमत्तापूर्ण सम्पादन आवश्यक थियो ।
फिल्म : केसरी
कलाकार : अक्षय कुमार, परिणिती चोपडा, राकेश चतुर्वेदी, एडवर्ड सोनेनब्लिक, वंश भारद्वाज, प्रीतपाल पाली
निर्देशक : अनुराग सिंह
रेटिंग : २.५/५