
काठमाडौं– आइतबारदेखि शुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा चैत २१ गतेसम्म चल्नेछ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा सहभागी हुने मध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
नियमिततर्फ कुल चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै, ग्रेडवृद्धितर्फ नौ हजार ५९१, प्राविधिकतर्फ नौ हजार ३४३ र पुरानो ग्रेडवृद्धितर्फ पाँच हजार ८८३ परीक्षार्थी सम्मिलित हुने परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जनाएको छ ।
एसईईमा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ । संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सङ्ख्या बढी देखिनुले शिक्षामा वर्गीय र सामाजिक विभेद् कायमै रहेको दर्शाउँछ ।
यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीका अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् ।
निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालयतर्फ छात्र बढी थिए ।
परीक्षामा देशभरि एक हजार ९६९ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षामा एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहायक केन्द्राध्यक्ष, २३ हजार ७५० निरीक्षक, चार हजार ७५० परीक्षा सहायक, नौ हजार पाँचसय कार्यालय सहयोगी, २९ हजार ५३५ सुरक्षाकर्मी गरी कुल ७२ हजार ६७१ जनशक्ति परिचालन हुने भएका छन् ।
शुक्रबार आयोजना गरिएको एक अन्तरक्रियामा परीक्षा नियन्त्रक अधिकारीले सातवटै प्रदेशमा अनिवार्य छ विषयका प्रश्नपत्र फरक फरक गरिएको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी परीक्षा केन्द्र प्रदेश–३ मा ४१९ वटा कायम गरिएको छ । सबैभन्दा बढी परीक्षार्थी प्रदेश ३ मा एक लाख छ हजार दुई रहेका छन् ।