काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको पक्षमा जनमतसंग्रहको माग राख्नेलाई असान्दर्भिक माग छाड्न सुझाव दिएका छन् । प्रतिगमनका कुनै सम्भावना नरहेको उनको जिकिर छ ।
संघीय संसदको हिउँदे अधिवेशनमा आइतवार समापन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पूर्वपञ्चहरूको पार्टीप्रति संकेत गर्दै राजतन्त्र भनेर फट्याक–फट्याक नगर्न सुझाव दिए ।
‘प्रतिगमनका कुनै सम्भावना छैनन्, यो कुरा सुन्न नेपाली जनता तयार छैनन् । गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘गाई कि त्रिशूल खेलेको होइन, यसको रक्षा जनताले गर्छ । राजतन्त्र भनेर फट्याक–फट्याक नगर्न सुझाव दिन्छु ।’
गोरखाका घलेहरूले २ सय ५० वर्ष अगाडि नै दौडेर राजा छान्ने गरेको स्मरण गर्दै ओलीले अहिलेको जमानामा आएर कसैलाई राजा बनाएर रैती बन्ने कल्पना नगर्न सुझाव दिए ।