१० साउन २०८३, आइतबार

नेता सिटौलाको स्वास्थ्यमा सुधार

नेता सिटौलाको स्वास्थ्यमा सुधार

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । 

उनी उपचाररत ह्याम्स अस्पतालले आइतवार स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा. सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उनको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । 

उनलाई अहिले पनि सघन उपचार कक्ष (आईसीयु)मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ । शुक्रवार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेकाले समस्या उत्पन्न भएको चिकित्सकहरूले जानकारी दिएका छन् । उनलाई रगतको मात्रा बढाउनका लागि शुक्रवार र शनिवार रगतसमेत दिइएको थियो । 

नेता सिटौलालाई धेरै रगत आवश्यक पर्ने भएपछि उनका शुभेच्छुकहरूले आज अस्पताल परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेका छन् । ‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियानमा स्वतःस्फूर्त कांग्रेस तथा पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ताहरूले रक्तदान गरिरहेको नेपाल विद्यार्थी सङ्घका नेता युवराज पाण्डेले जानकारी दिए । 

रक्तदान गर्न नेविसङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घलगायत प्रतिनिधि, सञ्चारकर्मीसहित अस्पताल पुगेको उनले बताए । 

नेविसङ्घका अर्का नेता सुशील भट्टका अनुसार दिउँसो १२ बजेसम्म १०७ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि आउने शुभेच्छुक बढ्दै गएकाले अझै केही समय कार्यक्रम जारी रहने उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्