काठमाडौँ–पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उनले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिए ।
जानकारका अनुसार दक्षिणाको लालचमा चन्दन घोट्ने यो कार्य चलेको दसकौँ भइसकेको छ । यो अघोषित रूपमा फस्टाउँदै आएको पनि छ ।
विसेट अरुण श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उपहार प्राप्त भएको श्रीखण्ड पशुपतिनाथमा प्रयोग भइरहेको छ । वासुकीमा, पशुपतिमा र भक्तजनको वितरणका लागि क्रमशः एक, एक र १५ किलो श्रीखण्ड मासिक रूपमा प्रयोग भइरहेको श्रेष्ठ बताउँछन् ।