
काठमाडौं –सोमवार दिउँसो १ बजेतिर सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुग्दा एक वृद्ध लौरो टेकेर यताउता गरिरहेका थिए ।
लाग्यो, उनी केही खोज्दैछन् । नजिक गएर सोधेँ- बाजे कसलाई खोज्नुभएको ?
थकित र काँपेको स्वरमा उनले भने- 'मन्त्रीलाई भेट्न आएको । हाम्रै कञ्चनपुरको हो नि त मन्त्री ।'
मन्त्री (खानेपानी मन्त्री बीना मगर) सँग समय लिनुभएको छ त ?
'केही दिनअघि पनि आएको थिएँ । बुडाल थरका एक जनासँग कुरा भएको थियो । यतै कुन कोठा हो, ठम्याउनै सकिनँ ।'
बुडाल थर पहिलो पटक सुनेकाले बडाल भनेका होलान्, भन्ने लाग्यो ।
मन्त्रीको स्वकीय सचिवालयको ढोका खोलेँ, खाली थियो ।
कोठाभित्रको फर्निचर देखेरै चिनेछन्, 'यही कोठा हो बाबु ।'
त्यसपछि मन्त्रीको निजी सचिवालयमा छिरेँ । एक जना कर्मचारी भेटिए ।
मन्त्रीज्यूको सचिवालयमा बडाल थरका कोही हुनुहुन्छ ?
उनले जवाफ फर्काए, 'बडाल होइन बुडाल होला । इन्द्रसिंह बुडाल भन्न खोज्नुभएको हो कि, तर उहाँ आउनुभएको छैन ।
मन्त्री मगर गृहजिल्ला कञ्चनपुर गएकाले स्वकीय सचिवालयका कोही पनि मन्त्रालयमा नरहेको उनले बताए ।
ती कर्मचारीसँग नम्बर मागेर फोन लगाएँ ।
'म खानेपानी मन्त्रालयमा छु । एकजना बाजे तपाईंलाई खोज्दै आउनुभएको रहेछ, त्यसैले फोन गरेको ।'
ती बाजेबारे उनी जानकार रहेछन् ।
'उहाँ केही दिनअघि पनि आउनुभएको थियो । खानेपानीको के योजना भन्दै हुनुहुन्थ्यो । भोलि आउनुस् भनेको थिएँ, आज पो आउनुभएछ,' उनको जवाफ आयो ।
बुडाल मन्त्रालयमा नरहेको जानकारी पाएपछि मैले फोन नम्बर टिपेर बाजेको डायरीमा राखिदिएँ, ता कि अब आउँदा यसरी अल्मलिनु नपरोस् ।
सामाजिक दायित्व पूरा गरेपछि पत्रकार हुनुको नाताले थप जिज्ञासा राखेँ ।
करीब १० मिनेट मन्त्रालयको सिँढीमै उभिएर कुराकानी भयो ।
…
नाम वीरसिंह भण्डारी । उमेर ८३ वर्ष ।
घर बैतडीको दोगडाकेदार गाउँपालिका- ६, थागिल । काठमाडौंबाट ८ सय किलोमिटरभन्दा टाढा ।
एउटै भएको छोरा (कृष्णसिंह भण्डारी) द्वन्द्वकालमा बेपत्ता ।
छोराको प्रसंगमा भावुक हुँदै उनले भने- 'माओवादीहरूले अभियान भनेर लगेका, फर्किएन बाबु ।'
'दुई नाति छन् । एउटा गाउँमै छ, अर्को यही काठमाडौंमा बसेर कोरियन भाषा पढ्छ ।'

उनी काठमाडौं आएदेखि नै होटलमा बसेका रहेछन् ।
'सुन्धाराको होटलमा बसेको छु । नाति कोरियन भाषा पढ्न कीर्तिपुरमा बस्छ,' हातको सार लगाउँदै थपे– 'यत्रोऽऽऽ कोठा छ बाबु । ४/५ जना केटाहरू बस्छन् ।'
नाति साथीहरूसँग मिलेर बसेकाले उनी होटलमा बसेका रहेछन् ।
मन्त्रालयमा कसरी आइपुग्नुभयो त ?
'यही सिँढी चढेर बाबु ।'
उनले बुझेनन् भन्ने लागेपछि दोहोर्याएर सोधेँ- बाहिर ढोकामा पास मागेनन् ?
बल्ल खोजेको जवाफ आयो- 'कांग्रेस दलको कार्यालयबाट भन्दिएका थिए ।'
तपाईं कांग्रेस हो बाजे ?
'हो । क्रियाशील छु ।' उनको अनुहारमा चमक देखियो ।
अनि यहाँ के काम थियो नि मन्त्रीसँग ?
'एउटा पुरानो ट्याङ्की छ, त्यसलाई मर्मत गर्नुपर्यो भनेर । पानी नै चढ्न छाड्यो ।'
अहिले त गाउँगाउँमा सरकार छ, यहाँसम्म धाउनै पर्दैन नि !
'पहिले केन्द्रबाटै पारेको योजना हो, त्यसैले यहाँ आएको ।'
अर्कै पार्टीको सरकार भएकाले उनले केही अप्ठ्यारो महसूस गरेका रहेछन् ।
गुनासो पोखिहाले- 'बाहिर नेपाल सरकार लेख्छन्, भित्र पार्टीको सरकार हुन्छ । हुन त यो कुरा कांग्रेसले नै सिकाएको हो । यिनीहरूले बहुदल नै बुझेनन् । व्यवस्था राम्रो छ, व्यवहार कसैको पनि गतिलो भएन ।'

पञ्चायतदेखि नै पेलान !
खास उनी काठमाडौं आउनुको कारण, खानेपानी मन्त्रालयभन्दा गृहमन्त्रालय रहेछ ।
करीब ३ सय घरधूरी रहेको गाउँ पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने भनेर तत्कालीन राजा वीरेन्द्रले नै आदेश दिएका रहेछन् ।
'राजाको हुकुमप्रमाङ्गी थियो, तर त्यतिबेलाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आदेशमा जिल्लाकाले त्यसलाई गायब पारिदिए,' उनले गुनासो पोखे ।
आफूहरू कांग्रेस भएकाले त्यसो गरिएको उनको बुझाइ रहेछ ।
बहुदल आएपछि आफू साविकको सित्तड गाविसको उपाध्यक्ष पनि भएको उनले सुनाए ।
पहिरोका कारण विस्थापित हुनुपरेपछि गृहमन्त्रालय धाउन थालेका रहेछन्, उनी ।
'पहिरो जान थालेको त २०१८ सालबाटै हो, अझै पनि रोकिएको छैन, गएकोगयै गर्छ,' उनले सुनाए ।
पछिल्लो समय विस्तापित नै हुनुपरेपनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो थियो ।
उनी गृह मन्त्रालय धाउनुको प्रयोजन क्षतिपूर्ति र पुनर्वासको आशा रहेछ ।
'हाम्रै गाउँपालिकाको ४ नम्बर वडामा पहिरो नै छैन पहिरो भनेर बजेट पारेछन्, हाम्रोमा पहिरो छ दिँदैनन् ।'
उनले थपे- 'यो लुटेराहरूको देश हो, कागजमा हुन्छ, व्यवहारमा हुँदैन ।'
निराशा बनेर उनी लौरो टेक्दै सिँढीबाट ओरालो लागे, म पनि पछिपछि लागेँ ।

बाहिर निस्किएपछि मसँग बिदा भएर ती बाजे कांग्रेस संसदीय दलको कार्यालयतिर सोझिए, म भने संसद् सचिवालयतिर लागेँ ।