०४ असार २०८३, बिहीबार

आठ सय किलोमिटर यात्रा गरी सिंहदरबार छिरेका ८३ वर्षे वृद्धले सरकार नभेटेपछि ...

आठ सय किलोमिटर यात्रा गरी सिंहदरबार छिरेका ८३ वर्षे वृद्धले सरकार नभेटेपछि ...

काठमाडौं –सोमवार दिउँसो १ बजेतिर सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुग्दा एक वृद्ध लौरो टेकेर यताउता गरिरहेका थिए ।

लाग्यो, उनी केही खोज्दैछन् । नजिक गएर सोधेँ- बाजे कसलाई खोज्नुभएको ?

थकित र काँपेको स्वरमा उनले भने- 'मन्त्रीलाई भेट्न आएको । हाम्रै कञ्चनपुरको हो नि त मन्त्री ।'

मन्त्री (खानेपानी मन्त्री बीना मगर) सँग समय लिनुभएको छ त ?

'केही दिनअघि पनि आएको थिएँ । बुडाल थरका एक जनासँग कुरा भएको थियो । यतै कुन कोठा हो, ठम्याउनै सकिनँ ।'

बुडाल थर पहिलो पटक सुनेकाले बडाल भनेका होलान्, भन्ने लाग्यो ।

मन्त्रीको स्वकीय सचिवालयको ढोका खोलेँ, खाली थियो । 

कोठाभित्रको फर्निचर देखेरै चिनेछन्, 'यही कोठा हो बाबु ।'

त्यसपछि मन्त्रीको निजी सचिवालयमा छिरेँ । एक जना कर्मचारी भेटिए ।

मन्त्रीज्यूको सचिवालयमा बडाल थरका कोही हुनुहुन्छ ?

उनले जवाफ फर्काए, 'बडाल होइन बुडाल होला । इन्द्रसिंह बुडाल भन्न खोज्नुभएको हो कि, तर उहाँ आउनुभएको छैन ।

मन्त्री मगर गृहजिल्ला कञ्चनपुर गएकाले स्वकीय सचिवालयका कोही पनि मन्त्रालयमा नरहेको उनले बताए ।

ती कर्मचारीसँग नम्बर मागेर फोन लगाएँ ।

'म खानेपानी मन्त्रालयमा छु । एकजना बाजे तपाईंलाई खोज्दै आउनुभएको रहेछ, त्यसैले फोन गरेको ।'

ती बाजेबारे उनी जानकार रहेछन् ।

'उहाँ केही दिनअघि पनि आउनुभएको थियो । खानेपानीको के योजना भन्दै हुनुहुन्थ्यो । भोलि आउनुस् भनेको थिएँ, आज पो आउनुभएछ,' उनको जवाफ आयो ।

बुडाल मन्त्रालयमा नरहेको जानकारी पाएपछि मैले फोन नम्बर टिपेर बाजेको डायरीमा राखिदिएँ, ता कि अब आउँदा यसरी अल्मलिनु नपरोस् ।

सामाजिक दायित्व पूरा गरेपछि पत्रकार हुनुको नाताले थप जिज्ञासा राखेँ ।

करीब १० मिनेट मन्त्रालयको सिँढीमै उभिएर कुराकानी भयो ।

नाम वीरसिंह भण्डारी । उमेर ८३ वर्ष ।

घर बैतडीको दोगडाकेदार गाउँपालिका- ६, थागिल । काठमाडौंबाट ८ सय किलोमिटरभन्दा टाढा ।

एउटै भएको छोरा (कृष्णसिंह भण्डारी) द्वन्द्वकालमा बेपत्ता ।

छोराको प्रसंगमा भावुक हुँदै उनले भने- 'माओवादीहरूले अभियान भनेर लगेका, फर्किएन बाबु ।'

'दुई नाति छन् । एउटा गाउँमै छ, अर्को यही काठमाडौंमा बसेर कोरियन भाषा पढ्छ ।'

उनी काठमाडौं आएदेखि नै होटलमा बसेका रहेछन् ।

'सुन्धाराको होटलमा बसेको छु । नाति कोरियन भाषा पढ्न कीर्तिपुरमा बस्छ,' हातको सार लगाउँदै थपे– 'यत्रोऽऽऽ कोठा छ बाबु  । ४/५ जना केटाहरू बस्छन् ।'

नाति साथीहरूसँग मिलेर बसेकाले उनी होटलमा बसेका रहेछन् ।

मन्त्रालयमा कसरी आइपुग्नुभयो त ?

'यही सिँढी चढेर बाबु ।'

उनले बुझेनन् भन्ने लागेपछि दोहोर्‍याएर सोधेँ- बाहिर ढोकामा पास मागेनन् ?

बल्ल खोजेको जवाफ आयो- 'कांग्रेस दलको कार्यालयबाट भन्दिएका थिए ।'

तपाईं कांग्रेस हो बाजे ?

'हो । क्रियाशील छु ।' उनको अनुहारमा चमक देखियो ।

अनि यहाँ के काम थियो नि मन्त्रीसँग ?

'एउटा पुरानो ट्याङ्की छ, त्यसलाई मर्मत गर्नुपर्‍यो भनेर । पानी नै चढ्न छाड्यो ।'

अहिले त गाउँगाउँमा सरकार छ, यहाँसम्म धाउनै पर्दैन नि !

'पहिले केन्द्रबाटै पारेको योजना हो, त्यसैले यहाँ आएको ।'

अर्कै पार्टीको सरकार भएकाले उनले केही अप्ठ्यारो महसूस गरेका रहेछन् ।

गुनासो पोखिहाले- 'बाहिर नेपाल सरकार लेख्छन्, भित्र पार्टीको सरकार हुन्छ । हुन त यो कुरा कांग्रेसले नै सिकाएको हो । यिनीहरूले बहुदल नै बुझेनन् । व्यवस्था राम्रो छ, व्यवहार कसैको पनि गतिलो भएन ।'

पञ्चायतदेखि नै पेलान !

खास उनी काठमाडौं आउनुको कारण, खानेपानी मन्त्रालयभन्दा गृहमन्त्रालय रहेछ ।

करीब ३ सय घरधूरी रहेको गाउँ पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने भनेर तत्कालीन राजा वीरेन्द्रले नै आदेश दिएका रहेछन् ।

'राजाको हुकुमप्रमाङ्गी थियो, तर त्यतिबेलाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आदेशमा जिल्लाकाले त्यसलाई  गायब पारिदिए,' उनले गुनासो पोखे ।

आफूहरू कांग्रेस भएकाले त्यसो गरिएको उनको बुझाइ रहेछ ।

बहुदल आएपछि आफू साविकको सित्तड गाविसको उपाध्यक्ष पनि भएको उनले सुनाए ।

पहिरोका कारण विस्थापित हुनुपरेपछि गृहमन्त्रालय धाउन थालेका रहेछन्, उनी ।

'पहिरो जान थालेको त २०१८ सालबाटै हो, अझै पनि रोकिएको छैन, गएकोगयै गर्छ,' उनले सुनाए ।

पछिल्लो समय विस्तापित नै हुनुपरेपनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो थियो ।

उनी गृह मन्त्रालय धाउनुको प्रयोजन क्षतिपूर्ति र पुनर्वासको आशा रहेछ ।

'हाम्रै गाउँपालिकाको ४ नम्बर वडामा पहिरो नै छैन पहिरो भनेर बजेट पारेछन्, हाम्रोमा पहिरो छ दिँदैनन् ।'

उनले थपे- 'यो लुटेराहरूको देश हो, कागजमा हुन्छ, व्यवहारमा हुँदैन ।'

निराशा बनेर उनी लौरो टेक्दै सिँढीबाट ओरालो लागे, म पनि पछिपछि लागेँ ।

बाहिर निस्किएपछि मसँग बिदा भएर ती बाजे कांग्रेस संसदीय दलको कार्यालयतिर सोझिए, म भने संसद् सचिवालयतिर लागेँ ।

salt training

कमेन्ट गर्नुहोस्