
बुटवल- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर देशलाई मुडभेडतिर धकेल्न खोजेको आरोप लगाएकी छन् ।
मंगलवार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले विप्लवको सन्दर्भमा सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, '‘जनता शान्ति चाहन्छन् । देशले द्वन्द्व थेग्न सक्दैन । सरकार र विप्लव नेतृत्वको नेकपा दुवैले यो सत्यलाई आत्मसाथ गर्नुपर्छ ।’
एक फरक प्रसंगमा उनले सरकार स्वयमले संघीयतालाई असफल बनाउन लागिरहेको पनि बताइन् । प्रमुख जिल्ला अधिकारलाई सुरक्षाको अधिकार दिन खोज्नु संविधान र संघीयताको मर्म विपरीत भएको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताइन् ।
नागरिकता विधेयकका सम्बन्धमा उनले पुरुष सरह महिलाले नागरिकताको अधिकार पाउने गरी व्यवस्था हुनु पर्नेमा जोड दिइन् । कांग्रेसको विधान दक्षिण एशियाकै उत्कृष्ट रहेको र एक तिहाई महिला सहभागिता सुनिश्चित गरेकोले त्यसलाई सशक्त निर्णायक बनाउने अभियानमा आफूहरू लागेको बताइन् । कांग्रेसले रचनात्मक ढंगबाट प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सरकारको रवैया यस्तै ररिरहे कडा रूपमा प्रस्तुत हुने र जागरण अभियान सञ्चालन गर्ने पनि बताइन् ।
कांग्रेसको लडाइँ पार्टीभित्र नभई अधिनायकवाद र सर्वसत्तावादसँग रहेको भन्दै उनले त्यसविरुद्ध लड्न सदन, सडक,संगठन, सत्याग्रह र सहमति सहकार्यबाट कांग्रेस रुपान्तरण भएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिइन् ।