
काठमाडौं – अमेरिकी अन्तरिक्ष नियोग नासाले पहिलोपटक दुई महिलालाई स्पेसवाक (अन्तरिक्ष पदयात्रा) को अनुमति दिएकोमा अहिले त्यसलाई रद्द गरेको छ ।
नासाका अनुसार, महिला अन्तरिक्षयात्रीलाई ठिक्क हुने स्पेससुट उपलब्ध छैन । त्यसैले कपडाको अभावमा मिसन हाललाई रद्द गरिएको हो । स्पेसवाकको योजनालाई पछिका लागि सारिएको छ ।
एक महिनाअघि नासाले मार्च २९ मा दुई महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट अन्तरिक्षमा स्पेसवाक गर्ने घोषणा गरेको थियो । पहिलोपटक महिलाहरूलाई मात्र स्पेसवाकका लागि पठाउन लागिएको थियो । त्यसअघिका
मिसनमा स्पेसवाकका लागि महिलाहरूसँग पुरुष अन्तरिक्षयात्रीलाई पनि पठाइएको थियो ।
स्पेसवाक गर्नुका अनेकौं कारण हुन्छन् । अन्तरिक्षयानको मर्मत, वैज्ञानिक प्रयोग, नयाँ उपकरणको परीक्षण, बिग्रेको भूउपग्रह मर्मत लगायतका कामका लागि स्पेसवाक गर्ने गरिन्छ ।
यसपालि दुई महिला अन्तरिक्षयात्री एन म्याकक्लेन र क्रिस्टिना कोशलाई पठाइएको थियो । म्याकक्लेनले यसअघि पनि स्पेसवाक गरिसकेकी छन् ।
म्याकक्लेन र कोशले सात घन्टा स्पेसवाक गर्ने कार्यक्रम थियो । दुवैजना सन् २०१३ को अन्तरिक्षयात्री क्लासमा थिए । क्लासमा आधीभन्दा बढी महिला थिए । त्यसक्रममा अन्तरक्षियात्री बन्नका लागि ६१ सय निवेदन प्राप्त भएको थियो । नासामा ५० प्रतिशत फ्लाइट डाइरेक्टरहरू महिला छन् ।
एजेन्सी