
काठमाडौं – काठमाडौं महानगरपालिकाले मंगलवार नयाँ ५ वटा ब्रूमर उद्घाटन गर्दै सञ्चालनमा ल्याएको छ ।
महानगरमा राति ९ बजेपछि ८ घण्टा धुलो सफा गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
झण्डै २ वर्ष अगाडि टेन्डर आह्वान गरी इटलीबाट यूरो मापदण्डको डुभेलो (डीयूएलईभीओ) ६००० मोडल र एफपीटी (ईभीईको) १ सय७ किलोवाट क्षमताका ५ वडा ब्रूमरहरू भित्र्याइएको छ ।
यी ब्रूमरहरू ३ वर्षसम्म रुटमा सञ्चालन र सर्भिसिनको खर्च अधिकृत बिक्रेताले गर्नेछ भने इन्धन महानगरपालिकाले उपलब्ध गराउने छ । ब्रूमरमा ४ वटा धुलो सफा गर्ने ब्रस, ५ सय लिटर पानी र ४.६७ घनमिटर धुलो भण्डार गर्ने क्षमताका छन् ।

काठमाडौंमा आइपुग्दा एउटा ब्रूमरको मूल्य २ करोड १५ लाख १७ हजार रुपैयाँ पर्न आएको छ । काठमाडौं मंगलवार रातिदेखि औपचारिक रुपमा ५ वटा ब्रूमर पाँचै वटा रुटमा धुलो सफा गर्ने छन् ।
टेकुबाट शुरू गरेर सोल्टीमोट कलंकी हुँदै सुन्धारा–घण्टाघर क्षेत्रबाट फेरि टेकुसम्म जानेछ । दोस्रो रुट त्रिपुरेश्वर–थापाथली–माइतीघर–वानेश्वर हुँदै एयरपोर्टसम्म र सोही बाटो फर्किएर कालिमाटी हुँदै फेरि टेकुसम्म आउने छन् ।
पुतलीसडक, ज्ञानेश्वर, विश्वज्योति, कमलादीमोड, नारायणहिटी, चक्रपथ, वालुवाटार, डिल्लीबजार, बालाजु, बसपार्कलगायत काठमाडौं नगरपालिकाका ब्रूमर छिर्न सक्ने सबै ठाउँमा जानेछन् ।
ब्रूमर ल्याएपछि काठमाडौं महानगरपालिकामा भएको धुलो र धुँवाको समस्या केही हदसम्म समाधान हुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘यो एउटा शुरूवात मात्र हो । हामी अत्याधुनिक प्रविधितर्फ जाँदै छौं । यो अहिले परीक्षण मात्र हो । यस्ता अरु पनि ब्रूमर ल्याउने तयारीमा छौं, महानगरलाई हराभरा बनाउने अभियानमा छौं,’ उनले भने ।
काठमाडौं देशकै मुटु भएकाले यसलाई सफा राख्नु महानगर लागिपरेको बताउँदै उनले आवश्यक सहयोग गर्न सबै महानगरबासीलाई आग्रह गरे । ‘आफ्नो घरबाट निस्कने फोहोरलाई महानगरको गाडीमा जम्मा पारिदिएर सहायोग गर्न काठमाडौं महानगरकी उपमेयर हरीप्रभा खड्गीले बताइन् । ‘काठमाडौंको फोहोर व्यवस्थापनको लागि छुट्टै कानूनको आवश्यकता छ, महानगरले छिट्टै केही गर्नुपर्छ । यो महानगर देशकै मुटु हो,’ उनले भनिन् ।