२५ जेठ २०८३, सोमबार
मूलधारको राजनीति

सीके राउतको महत्त्वाकांक्षी लक्ष्य : हरेक जिल्लामा १ लाख समर्थक उतारेर आमसभा गरिने !

चैत १३, २०७५
सीके राउतको महत्त्वाकांक्षी लक्ष्य : हरेक जिल्लामा १ लाख समर्थक उतारेर आमसभा गरिने !

जनकपुरधाम – सीके राउतको अध्यक्षतामा नवगठित जनमत पार्टीले तराई–मधेशका विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कामलाई तीब्रता दिएको छ ।

तराईका २२ वटै जिल्लामा १–१ लाख जना समर्थकको उपस्थितिमा आमसभा आयोजन गर्ने महत्त्वाकांक्षी लक्ष्यसहित पार्टीले विभिन्न समिति गठन गरेर तयारी गरिरहेको छ । 

तयारीका लागि विभिन्न जिल्लामा जिल्ला स्तरीय, निर्वाचन क्षेत्र स्तरीय, स्थानीय तह अनुसार गाउँपालिका, नगरपालिका स्तरीय हुँदै गाउँ इकाई कमिटीदेखि बुथ कमिटीसम्मको संरचना निर्माण गरिरहेका छन् ।

प्रायःजसो जिल्लामा त्यसको विस्तारित बैठक गरेर समिति गठन गर्ने र जनपरिचालन गर्ने तयारी भइरहेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले बताए ।

गत चैत्र १२ गते जनकपुरधामको मणिपालस्थित खुलाचौरमा बसेको जनमत पार्टी धनुषा जिल्लाको विस्तारित बैठकले जिल्ला स्तरीयदेखि ४ वटा निर्वाचन क्षेत्र स्तरीय समिति गठन गरेको छ । ७१ सदस्यीय जिल्ला समिति र विभिन्न निर्वाचन क्षेत्रमा जनपरिचालन समिति गठन गरिएको छ ।

बैठकले रामप्रताप मण्डलको संयोजकत्वमा प्रचारप्रसार समिति, राम शंकर महासेठको संयोजकत्वमा समन्वय समिति, शैलेन्द्र मण्डलको संयोजकत्वमा जनसम्पर्क समिति, उपेन्द्र रोहिताको संयोजकत्वमा सहयोग समन्वय समिति र विजयकुमार मण्डलको संयोजकत्वमा उद्दार उपचार समिति समेत गठन गरेको छ । धनुषाजस्तै प्रायःजसो जिल्लामा बैठक गरेर विभिन्न समिति निर्माण भएका सिंहले बताए ।

पूर्वमा झापादेखि पश्चिममा कैलालीसम्म आफ्नो पार्टीको संगठन रहेको जनमत पार्टीको दाबी छ । त्यसैगरी विभिन्न देशमा समेत जनमत पार्टीप्रति शुभेच्छा राख्ने संगठन गैरआवासीय मधेशी संघ पनि रहेको सिंहले बताए । भारत, चीन, अमेरिका, रुस, इंग्ल्याण्ड, मलेसिया, कतार, साउदी अरेबियामा समेत संगठन रहेको उनले बताए ।

निर्वाचन आयोगमा दल दर्ताको तयारी

पार्टीलाई निर्वाचन आयोगमा आधिकारिक रुपमा दर्ता गर्नका लागि समेत तयारी अगाडि बढाएको छ । ‘दल दर्ता हुनका लागि १० हजार व्यक्तिको हस्ताक्षर आवश्यक रहेकाले त्यसतर्फ हामी केन्द्रित भएका छौं,’ पार्टी केन्द्रीय सदस्य सिंहले भने, ‘तर ५ हजार जतिको संख्या तत्काल हामीले बुझाउँछौं र पछि बाँकी हस्ताक्षर बुझाउने छौं ।’ पार्टी दर्ता गर्नका लागि आवश्यक पर्ने विधान, नियमावली लगायतका दस्तावेज लेखनको काम पनि भइरहेको उनले बताए ।

पार्टीले अनलाइनमार्फत सदस्यता आवेदन दिन सामाजिक सञ्जालमा आह्वान गरेको छ । सिंहका अनुसार हजारौं मानिसले आवेदन फाराम भरेका छन् । प्रायःजसो विदेशमा गएर वैदेशिक रोजगारी गरिरहेका मानिसले अनलाइनमार्फत सदस्यता लिइरहेका छन् ।

‘अहिलेको सदस्यता विगतमा रहेको स्वतन्त्र मधेश गठबन्धनको सदस्यतालाई जनमत पार्टीको सदस्यतामा रुपान्तरण गर्ने काम भइरहेको छ,’ सिंहले थपे, ‘पछि पार्टी निर्वाचन आयोगमा दर्ता भएर दल दर्ता नम्बर पाइसकेपछि सदस्यता वितरणलाई अगाडि बढाइने छ ।’

मुद्दा फिर्ताका लागि तथ्यांक संकलन गर्दै 

जनमत पार्टीले विगतमा स्वतन्त्र मधेश गठबन्धनको कार्यकर्ता भनेर राज्यद्वारा लगाइएका मुद्दा फिर्ता गर्न राज्यसँग भएको सम्झौतालाई कार्यान्वयनका लागि मुद्दाको लगत संकलन गर्ने काम समेत शुरू गरेको छ । ११ बुँदे सम्झौता अनुसार राज्यले ती सबै मुद्दा फिर्ता लिने भएपछि जनमत पार्टीले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दाको लगत संकलन गरिरहेको छ ।

जनमत पार्टीको तर्फबाट चन्दन सिंहकै संयोजकत्वमा गठित ३ सदस्यीय समितिले मुद्दा फिर्ता लिनका लागि लगत संकलन गर्ने काम गरिरहेको छ । ‘अहिलेसम्म विभिन्न जिल्लाबाट प्राप्त भएको लगत अनुसार १ सयभन्दा बढी मानिसमाथि राज्यले मुद्दा लगाएको छ,’ सिंहले भने, ‘लगत संकलनको काम जारी नै रहेकाले त्यो संख्या बढ्न पनि सक्छ ।’

प्रायःजसो कार्यकर्तामाथि राज्य विप्लव, राज्यद्रोह, संगठित अपराध, सार्वजनिक अपराध लगायतका मुद्दा दर्ता गरिएको छ । मधेशका केही जिल्लाबाहेक प्रायः सबै जिल्लामा त्यस्ता मुद्दा दर्ता भएको उनले बताए । 

धनुषामा नै राउतसहित कतिपय व्यक्तिविरुद्ध राज्य विप्लव तथा संगठित अपराधको मुद्दा दर्ता भएको र विवाह पञ्चमीका दिन जानकी मन्दिर सरसफाइ गर्दा, परिक्रममा श्रद्धालु भक्तजनलाई पानी खुवाउँदा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको उनले बताए ।

‘सप्तरीमा सीके राउतको मुर्ति बनाउँदा प्रहरीले मूर्ति पनि लुटेर लगे र मुर्ती बनाउने कालिगढ कुम्हारमाथि समेत मुद्दा दर्ता भएको छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, नवलपरासी, बाँके ,रौतहट लगायतका जिल्लामा मुद्दा दर्ता भएको छ,’ उनले भने । मुद्दा फिर्ताको पहलका लागि सरकारसँग औपचारिक कुराकानी नभएपनि अनौपचारिक कुराकानी भने भई नै रहेको सिंहले बताए । लगत संकलनको काम सकिएपछि औपचारिक रुपमा नै गृह मन्त्रालयमा बुझाउने र मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

‘अहिले हामीले जनतामा जानुभन्दा पनि आफ्नै कार्यकर्तालाई ११ बुँदे सम्झौताबारे बुझाउने काम गरिरहेका छौं,’ सिंहले भने, ‘प्रत्येक जिल्लामा सबै तहको जनपरिचालन समिति बनिसकेपछि बुथ समितिमार्फत जनतामा जानेछौं ।’ प्रत्येक जिल्लामा १ लाख व्यक्तिको उपस्थितिमा आमसभा गरेर आफ्नो कुरा राख्ने कामका लागि तयारी तीब्र गतिमा अगाडि बढिरहेको उनले बताए । आमसभाका लागि केही जिल्लाको मिति तय पनि भइसकेको उनले बताए ।

प्रत्येक जिल्लामा भइरहेको जिल्ला स्तरीय विस्तारित बैठकमा ११ बुँदे सम्झौता, आगामी कार्यनीति, कार्यदिशाबारे प्रशिक्षण दिने काम भइरहेको उनले जानकारी दिए । ‘हामी ११ बुँदे सम्झौतामा पूर्णतः इमान्दार छौं, कुनै पनि कार्यकर्तामा कुनै पनि किसिमको भ्रम छैन,’ सिंहले भने, ‘जनमत पार्टीलाई जनमत दिएर मधेशी जनताको अधिकार र समृद्धि दिलाउने जनमत पार्टीको लक्ष्य रहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्