२२ जेठ २०८३, शुक्रबार

‘यात्रा’की मलिका : इन्स्टाग्राममा हिट, अभिनयमा फिट !

चैत १३, २०७५
‘यात्रा’की मलिका : इन्स्टाग्राममा हिट, अभिनयमा फिट !

काठमाडौं - मलिका महत नेपाली फिल्म क्षेत्रकी नयाँ अनुहार हुन् । उनी अभिनित पहिलो फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ यहीँ चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्नो पहिलो फिल्मलाई लिएर उनमा उत्साहसँगै डर पनि छ । 

लोकान्तरसँगको कुराकानीमा मलिका भन्छिन्, ‘आफ्नो अभिनय पर्दामा हेर्दैछु । त्यसलाई लिएर उत्साहित छु । सँगै मेरो कामलाई दर्शकले कस्तो भन्नुहुने हो भन्ने डर पनि लागिरहेको छ ।’

तर डबिङका क्रममा फिल्मको केही अंश हेरेपछि उनी सकारात्मक छिन् । ‘केही अंश हेर्दा मेरो अपेक्षा मिट भएको छ । फिल्म निकै राम्रो बनेको छ,’ मलिका सन्तुष्टि सुनाउँछिन् ।

इन्स्टाग्रामबाट हिरोइन

मलिका आफू इन्स्टाग्रामबाट फिल्मको हिरोइन बनेको बताउँछिन् । उनी इन्स्टाग्राममा सक्रिय छिन्, ‘फलोइङ’ पनि राम्रो छ । फिल्म ‘यात्रा’सँग यात्राबारे मलिका भन्छिन्, ‘इन्स्ट्राग्राममा फोटो हेरेपछि निर्माण यूनिटबाट अफर आएको हो ।’ 

निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता केशव भट्टराई, निर्माता सुशील पोखरेल लगायत यूनिटले केही पहिलेदेखि धुमधामसँग नवनायिकाको खोजी गरिरहेको थियो । तर चित्त बुझ्ने पात्र भेटिरहेको थिएनन् । त्यहीँबाट ‘इन्ट्री’ भयो मलिकाको ।

‘इन्स्टाग्राममा इमेल आईडी राखेकी थिए,’ उनी भन्छिन्, ‘फिल्ममा यस्तो खालको क्यारेक्टर छ । इन्ट्रेस्ट हुनुहुन्छ भने अडिसन दिनु भनेर मेल गर्नुभयो ।’ लगत्तै मलिका टीमलाई भेट्न गइन् । ‘वान लाइन’ स्टोरी सुनिन् । स्टोरी मनपर्यो । अडिसन दिइन् ।

तेस्रो दिनमा छनौट भइन् । केही समय वर्कशप भयो । त्यसपछि फिल्मकी हिरोइन बनिन् । हुन त ‘यात्रा’अघि मलिका २ वटा म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

‘म्यूजिक भिडियोमा पनि इन्स्टाग्रामबाटै जोडिएकी थिए,’ मलिका मुस्कुराउँदै सुनाउँछिन् । स्वप्न सुमनको ‘म तिम्रो’ र उमंगराज श्रेष्ठको ‘फ्लोजन गाइज’ उनले मोडलिङ गरेका गीत हुन् । 

मलिका काठमाडौंमा जन्मिइन्, हुर्किइन् । बाल्यवस्थामा उनलाई कहिल्यै लागेन – म म्युजिक भिडियोमा अभिनय गर्छु, फिल्मको हिरोइन बन्छु । तर नाटकमा भने उनको रुचि थियो । ४ कक्षामा पढ्दा उनले एउटा नाटकमा अभिनय गरिन् ।

उनी स्मरण गर्छिन्, ‘गुरूकूलमा मधुमालतिको कथामा नाटक गर्दा दर्शकले रुचाएर १७ पटक दिनैपिच्छे देखाइएको थियो । त्यतिबेलादेखि उनले आफूलाई अभिनय गर्न सक्छु भन्ने महसूस गर्न थालिन् ।

‘त्यतिबेला मभित्र अभिनय कला रहेछ भन्ने फिल भयो,’ मलिका थप्छिन्, ‘त्यसपछि कसैले तिमीलाई के मन पर्छ भनेर सोध्दा अभिनय भन्न थालें ।’ त्यसपछि ८ कक्षा र ‘प्लस टू’मा पढ्दा नाटकमा अभिनय गरेको मलिका सुनाउँछिन् । अहिले ब्याचलर पहिलो वर्षमा अध्ययनरत मलिकाले ‘प्लस टू’ पढ्दा नै म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

‘यात्रा’पछि यात्रा

मलिका आउँदा दिनमा पढाइ र अभिनयलाई सँगसँगै अगाडि बढाउने बताउँछिन् । उनको फिल्म यात्रामा परिवारको साथ र सहयोग छ । ‘फिल्ममा राम्रो काम गर्दै जाउ तर पढाइमा पनि फोकस हुनू,’ उनलाई अभिभावकले भन्छन् । फिल्मको अधिकांश छायाँकन सोलुखुम्बुमा गरिएको छ ।

एउटै उमेर समूहका कलाकार भएर सुटिङ पनि रमाइलो भएको मलिका सुनाउँछिन् । ‘हामी सबै योङ–योङ, सुटिङमा धेरै रमाइलो भयो,’ मलिका सुटिङको रमाइलो किस्सा सुनाउँछिन्, ‘त्यहाँ न नेट, न टीभी, तास खेल्दै रमाइलो गर्दै खाली समय बिताउँथ्यौं ।’

फिल्ममा मलिका एक दृष्टिविहीन गायिकाको भूमिकामा प्रस्तुत छिन् । आफ्नो भूमिकालाई जतिसक्दो न्याय गरेकी छिन् । फिल्ममा मलिकाले अभिनेता सलिनमान बनियासँग जोडी बाँधेकी छिन् । अहिले त फिल्मको पोस्टर, गीत, टिजर, ट्रेलर पनि सार्वजनिक भइसकेका छन् । 

सबैतिरबाट पाएको सकारात्मक प्रतिक्रियाले मलिकामा खुशीको सीमा नै छैन । उनी भन्छिन्, ‘कक्षाका साथीहरू पनि एकदमै एक्साइटेड छन् । तिम्रो फिल्म कहिले आउँछ भनिरहेका हुन्छन् । अन्यतिरबाट पनि फिल्मबारे राम्रो प्रतिक्रिया पाइरहेकी छु ।’

तस्वीरहरू : आर्यन बिमली

salt training

कमेन्ट गर्नुहोस्